सिद्धार्थ उद्योग वाणिज्य संघ र भलाई कोषबीच द्विपक्षीय सम्झौता

रुपन्देही खबर , ३४  पटक हेरिएको

भैरहवा, साउन ३०

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको छ । संघमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरु भलाई कोषमा आबद्ध गराउने गरी सम्झौता भएको हो ।

सम्झौतामा दुवै संस्थाका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनु भएको छ ।

सम्झौतामा निजी तथा भाडामा चल्ने सवारी साधनका अतिरिक्त सिद्धार्थ उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीका मोटरसाईकल तथा स्कुटरहरु समेत कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने उल्लेख छ । सम्झौतामा २०८१ कार्तिक ३० सम्म कोषले आबद्धता निःशुल्क गरिदिने उल्लेख छ ।

त्यसै गरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपैयाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले गर्नेछ । 

आफ्नो गाडीको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने छ । 

त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा दुई जनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ ।

 

प्रकाशित मिति: २०२४-०८-१४ , समय : ०४:३२:१९ , ४ महिना अगाडि