रुपन्देहीको सीमा क्षेत्र र भारतका विभिन्न स्थानबाट २ सय ८८ जनाको उद्वार

रुपन्देही खबर , ५०  पटक हेरिएको

भैरहवा, साउन २०

रुपन्देहीका सीमा क्षेत्र तथा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट एक वर्षको अवधिमा २८८ जनाको उद्वार गरिएको छ । शुभ अवसर ग्राम नेपाल, परियोजना कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८०र०८१ मा २८८ जनाको उद्वार गरेको हो । उद्वार गरिएकोमा २२८ जना महिला तथा ६० जना पुरुष रहेका छन ।

अन्तरसीमा मानव बेचबिखनविरुद्ध परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै शुभ अवसर ग्राम नेपाल, परियोजना कार्यालय भैरहवाका परियोजना संयोजक सत्यनारायण यादवले उद्वार गरिएकामध्ये १८५ जनाले सुरक्षित आवास गृह सेवा लिएको जानकारी दिनु भएको छ । उहाका अनुसार यसमा महिला, बालिका तथा किशोरीहरु १८० तथा आश्रित बालकहरु ५ जना छन । त्यस्तै २१९ जनालाई पारिवारिक पुर्नमिलन गराइएको यादवले जानकारी दिनु भएको छ ।

त्यसै गरी उद्दार गरिएकोमध्ये २३ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ भने १४ जनालाई आयआर्जनका लागि बीउपूँजी सहयोग गरिएको संस्थाले जनाएको छ । उहाले भन्नु भयो ‘हाम्रोमा अन्य सेवा प्रदायकहरुको रिफरल ६१ जना आउनुभएको थियो । उहाँहरुलाई सुरक्षित आवास, पारिवारिक मिलन लगायतका काम गरिएको छ ।’

संस्थाले सरकारका विभिन्न निकायसँगको सहकार्यमा भारतको कश्मिरमा बधुवा मजदूर बनाइएका ६३ जनाको दुई चरणमा गरेर उद्वार गर्न सफल भएको जनाएको छ ।

परियोजनाको भैरहवा कार्यालयले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको कालीदह–कक्ररहवा र रोहिणी गाउँपालिकाको लखनौतिया–भगवानपुर नाकामा मानव बेचविखनविरुद्ध काम गर्दै आएको छ । त्यस्तै सीमा क्षेत्रमा १३ वटा समूहमा आबद्ध १६९ जना युवायुवती सीमा निगराकानीकर्ताले मानव बेचविखनविरुद्ध काम गर्दै आएको यादवले बताउनु भयो । विशेष गरी २०–२५ वर्ष उमेर समूहका युवतीहरु विभिन्न प्रलोभनमा परेर दलालको फन्दामा परेको गरेको उहाको भनाइ छ ।

परियोजनाका विकास देवकोटाले उद्धारसँगै सामूदायिक पुनःउत्थान र उद्धार गरिएकाहरुलाई आयआर्जनका लागि सहयोग गर्दै आएको बताउनु भएको छ । पछिल्लो समय आधुनिक सुविधाको उपभोग गर्ने रहर र धेरै पैसा कमाउने तथा विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि युवतीहरु बेचबिखनमा परेका छन ।

प्रकाशित मिति: २०२४-०८-०४ , समय : ०९:४३:२८ , ३ महिना अगाडि