कञ्चनमा गाउँ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण कार्यको निरन्तरता

अहिले सम्म १४ सय भन्दा बढीको नविकरण

जगी लाल थापा , १२१  पटक हेरिएको

कञ्चन,साउन १८

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी, २०७७ को नियम (४) अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीको आ.व. २०८१०८२ का लागि कञ्चनले गाउँ गाउँमै पुगेर नविकरण गर्ने कार्यलाई १२ औं दिन पनि निरन्तरता दिएको छ।

आ.व. २०८१ श्रावण १ गते देखि लागु हुनेगरी भाद्र मसान्त भित्र अनिवार्य रुपले नविकरण गर्नु पर्ने प्रावधान अनुसार कञ्चन गाउँपालिकाले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई वडा कार्यालयसम्म जान आउन समस्यालाई मध्यनजर गर्दै टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र नविकरण गरेको हो।

बिहिवार वडा नं. ४ को अस्नैया र वडा नं. २ को गजेडीमा संचालन गरिएको घुम्ति शिविरमा नविकरणका लागि आएका लाभग्राहीलाई सम्बोधन गर्दै कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले सकेसम्म स्थानीय तहले कञ्चनवासी नागरिकहरुलाई हरेक सेवा प्रवाह झन्झट रहित बनाउने प्रयास गरिरहेको बताउनु भयो। अध्यक्ष ढकालले जेष्ठ नागरिक भनेका अभिभावक र अमुल्य गहना भएको हुँदा उनिहरुको सम्मान र सुरक्षा दिनु सरकारको दायित्व भएको उल्लेख गर्नु भयो।

फरक प्रसंगमा आफ्नो बिचार राख्दै पालिका अध्यक्ष ढकालले चुनाव पछि कञ्चनको मुख्य समस्याको रुपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिने कार्यमा खटेको र सरकारको पुनः गठनसंगै आयोग समेत बिघटन भएकोले केही समयका लागि काम रोकिएको र लालपुर्जा वितरण्ण गर्ने कार्यमा कुनै समस्या नरहेको बताउनु भयो।

यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले वडावासी जनताको सबै भावनलाई एकै पटक सम्बोधन गर्न खोज्दा गुणस्तरियता र दीगोपनमा कमी आउने भएकोले जनताले बिकासको अनूभुति गर्न पाउनेगरी सबैक्षेत्रको बिस्तारै बिकास हुने बताउनु भयो। सकेसम्म वडाको सेवा प्रवाहलाई वडावासीको पहुँचमा पुर्याउन पालिका र वडाको समन्वय र सहकार्य भइरहेको र सोही अन्तर्गत सामाििजक सुरक्षा भत्ता नविकरण गर्ने कार्यलाई टोल टोलमा ल्याइएको समेत वडा अध्यक्ष खत्रीले बताउनु भयो ।

यस्तै वडा नं. ४ का वडा सचिव चक्रपाणी पौडेलले जेष्ठ नागरिक, अशक्त र असाहय एकल महिला तथा अपाङ्गता भएका ब्यक्तीहरुले लाभ लिदै आइरहेको सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडासम्म धाउन नपरोस भन्ने पालिकाको उद्धेश्य अनुसार गाउँ गाउँमै गएर सेवा दिइएको बताउनु भयो। वडा नं. ५ का वडा सचिव चोलाकान्त पाण्डे (मदन) ले पालिकाले सहज रुपमा सेवा प्रवाह गरेर जनतालाई स्थानीय तहमा हाम्रो भावना बुझ्ने सरकार छ है भन्ने महसुस गराउन  र जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका जनताको अभिभावकिय जिम्मेवारी बहन गर्न घुम्ति शिविर मार्फत टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता लाभग्राहीको परिचयपत्र नविकरण कार्यलाई अगाडी बढाइएको बताउनु भयो।

कञ्चनमा गत आ.व.मा ४ हजार ६ सय ९७ सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही भएकोमा साउन गते देखि ६ गते देखि संचालन गरिएको घुम्ति शिविर मार्फत १ हजार ५ सय जनाले नविकरण गरेको कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिनु भएको छ।

कञ्चन गाउँपालिकाले कञ्चनका सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरुको परिचयपत्र गाउँ गाउँमा गएर नविकरण गर्ने गरेको निर्णयलाई कार्यान्वय गर्नु वडा कार्यालयको अनिवार्य जिम्मेवारी भएको उल्लेख गर्दै वडा नं. २ का वडा सचिव लक्ष्मी शर्माले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन बिहान ७ बजे देखि साँझ ६ बजेसम्म वडाका कर्मचारी, जनप्रतिनीधि, टोल बिकास संस्थाका अध्यक्षहरु लागिपरेको बताउनु भयो।

वडा नं. २ मा आजबाट घुम्ति शिविर शुरु भएको छ भने वडा नं. ३ मा साउन १९ गते देखि शुरु हुने कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिनु भएको छ। यस्तै वडा नं. १ मा पनि पालिका र वडामा भएका जनशक्तीहरुको परिचालन गरेर यथासक्य घुम्ति शिविर संचालन गरिने पाख्रेलले बताउनु भयो।

प्रकाशित मिति: २०२४-०८-०२ , समय : १०:१४:१९ , ४ महिना अगाडि