बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री

रुपन्देही खबर , ६९  पटक हेरिएको

बागमती, साउन १२

बागमती प्रदेशमा नेपाली कांग्रेसका थप चार मन्त्रीले शपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो । लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउनु भएको । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ । १३ मन्त्रालय भएको बागमतीमा १४ मन्त्री बनाइएको छ ।

प्रकाशित मिति: २०२४-०७-२७ , समय : २१:४०:४५ , ४ महिना अगाडि