रुपन्देही खबर , ९३ पटक हेरिएको
भैरहवा, साउन ११
रुपन्देहीको भैरहवास्थित माखनभोग स्वीट्समा रहेको मिठाई (रसबरी) मा किरा भेटिएको छ । जिल्ला बजार अनुगमन समितिले गरेको मिठाई पसल अनुगमनका क्रममा मिठाईमा किरा भेटिएपछि नष्ट गरेको छ ।
भैरहवामा बिहीबार मिठाई पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मिठाई, पनिर र कोककोला नष्ट गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनु भएको छ ।
उहाका अनुसार अनुगमन समितिले सिद्धार्थनगर–७ स्थित माखनभोग स्वीट्समा रहेको मिठाई (रसबरी) मा किरा भेटिएपछि त्यसलाई नष्ट गरिएको छ । अखाद्य मिठाई विक्री गर्दा जनस्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले त्यसलाई ध्यानमा राखेर अखाद्य मिठाई नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
अर्यालका अनुसार यहाँ उत्पादित १० किलो मिठाईमा स–सना मरेका किराहरु भेटिएका थिए । यस्तै, उक्त स्वीट्समा म्याद गुज्रिएको ४ बोतल कोकाकोला पनि भेट्टिएको थियो । कोकाकोलालाई पनि नष्ट गरिएको छ । माखनभोग स्वीट्सले सरसफाईमा पनि आवश्यक ध्यान नदिएको अनुगमन समितिले जनाएको छ ।
उक्त स्वीट्सका सञ्चालकलाई आगामी दिनमा खाद्यवस्तु उत्पादनमा विशेष ध्यान दिन निर्देशन दिइएको छ भने सुधार नगरे कानूनअनुसार कारबाही गर्ने गरी सचेत गराइएको अनुगमन समितिले जनाएको छ ।
यस्तै, सिद्धार्थनगर–५ मा रहेको पवन मिष्ठान भण्डारमा लेबल नभएको साढे २ किलो पनिर भेटिएपछि नष्ट गरिएको छ । यहाँ सरसफाईमा विशेष ध्यान दिन अनुगमन समितिले निर्देशन दिएको छ ।
भैरहवाको आवारोडस्थित साँवरिया प्रिमियम स्वीट्स भण्डारले भने खाद्य मापदण्ड पालना गरेको पाइएको जिल्ला अनुगमन समिति संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भएको छ ।
अर्यालले बजार अनुगमनलाई निरन्तरता दिइरहेको जनाउँदै कानूनले बर्जित गतिविधि गरेको पाइए जो कोहीलाई कारबाही गर्ने बताउनु भयो।
तत्काललाई प्रतिनिधिमूलक रुपमा तीनवटा मिष्ठानमा अनुगमन गरे पनि आगामी दिनमा अन्य स्थानमा पनि अनुगमन गरिने उहाले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-०७-२६ , समय : १३:५०:१६ , ४ महिना अगाडि