रुपन्देही खबर , २०५ पटक हेरिएको
बुटवल,साउन ९
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरुलाइउनु भएको हो । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बन्नु भएको हो । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी हुनुहुन्छ । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री र पन्थी आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो ।
पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बन्नु भएको हो । काङ्ग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बन्नु भएको थियो भने अरु सबै नयाँ अनुहार छन ।
कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्नु भएको थियो ।
यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ । ८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।
मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित हुनुहुन्थ्यो। दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बन्नुका साथै राजिनामा समेत दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०७-२४ , समय : ११:०२:३५ , ४ महिना अगाडि