लिला गिरी दोस्रोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै

रुपन्देही खबर , १७५  पटक हेरिएको

लुम्बिनी , साउन ६

नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लाग्नु भएको छ । उहा दोस्रोपटक मुख्यमन्त्री बन्न लाग्नु भएको हो । गिरी एमालेको पोलिटव्यूरो सदस्य समेत हुनुहुन्छ । उहाले रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

यसअघि २०७९ पुस २७ गते मुख्यमन्त्री बनेका गिरी तत्कालीन गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) सहितका अन्य दल नयाँ गठबन्धनमा गएपछि साढे ३ महिनामै सरकारबाट बाहिरिनु भएको थियो । अहिले माओवादी नेतृत्वलाई विस्थापित गर्दै नेपाली कांग्रेसको साथमा गिरी मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेरिन लागेको हो । एमालेको जिम्मामा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले जानकारी दिनु भएको छ । एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति जुटेको उहाले बताउनु भयो ।

कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले एमाले संसदीय दलका नेता गिरीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी तयारी भइरहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : १७:०९:१८ , ४ महिना अगाडि