रुपन्देही खबर , २१८ पटक हेरिएको
काठमाण्डौ, असार २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ । शुक्रबार राति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा (एमाले) र नेपाली कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो ।
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ । कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।
यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिमक सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । त्यसअघि उहाँले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गर्नुभएको थियो ।
नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ । यसअघि असार १८ गते मध्यरातमा कांग्रेस-एमालेबीच सत्ता समीकरणमा सहमति भएको थियो ।
प्रकाशित मिति: २०२४-०७-१३ , समय : ०६:३०:०० , ५ महिना अगाडि