गुल्मी ठूलो लुम्पेकका कलाकार यम बहादुर थापा सम्मानित

जगी लाल थापा , १३९  पटक हेरिएको

कञ्चन, असार २८

गुल्मी ठूलो लुम्पेक जन्म भई रुपन्देहीको बुटवललाई कर्मथलो बनाउदै आउनु भएका कलाकार यम बहादुर थापा सम्मानित हुनु भएको छ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा ललितकला बिधातर्फ कलाकार थापा सम्मानित हुनु भएको हो।

नेपाल सरकारद्वार स्थापित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार ललितकला बिधातर्फ लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्मानित कलाकार थापाले मूर्तिकलामा आफुलाई समर्पण गर्दै आउनु भएको छ।

५२ वर्षीय कलाकार थापाले नेपाल ललितकला क्याम्पसबाट आर्टस (मानविकी) मा स्नातक गर्नु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–७ ठूलो लुम्पेकका वि. सं. २०२९ मा जन्मिनु भएका थापाले अहिले रुपन्देहीको बुटवललाई कर्मक्षेत्र बनाउदै आउनु भएको छ । वहाँ अहिले बुटवलमा मात्र नभएर लुम्बिनी प्रदेशमा गनिएका–चिनिएका मूर्तिकारमा पर्दै आउनु भएको छ।

आफूलाई सिर्जना र कलाकारिताकै लागि जन्मिएको ठान्ने कलाकार थापा काठमाण्डौको नियमित पढाई सक्कएपछि गाउँ फर्केर मूर्तिकलामा ब्यस्त हुनुभयो । पछि बुटवल आएर वहाँले आफ्नो कला देखाउने प्रयास गरेपनि खासै नचलेपछि मार्बलमा शिलालेख र ताम्रपत्र लेख्न थाल्नु भएको थियो । बुटवलमा इमेज आर्ट नामक मूर्तिकलासम्बन्धी ब्यबसायिक ग्यालरी संचालन गर्दै आउनु भएका थापाले आफ्नै घरलाई संग्राहलयको रुपमा बिकास गर्दै हुनुहुन्छ ।
२०७५ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समेत प्राज्ञ हुनु भएका थापालाई बिभिन्न पुरस्कार तथा सम्मान प्राप्त भएको छ। वहाँले अरनिको युवा कला प्रतिभा पुरस्कार–२०६८,काठमाण्डौं, नेपाल कमर्सियल आर्टिष्ट संघ, केन्द्रिय कार्य समिति, काठमाण्डौंद्वारा प्रदान गरिएको हेम गंगा युवा प्रतिभा पुरस्कार–२०६७, ललित कला क्याम्पस,काठमाण्डौद्वारा आयोजित मूर्तिकला प्रतियोगिता–२०५०,ललित कलातर्फ प्रथम पुरस्कार, लीलाध्वज थापा साहित्य प्रतिष्ठान –२०७५, बालुवाटार, काठमाण्डौ, २६औं राष्ट्रिय कला प्रदर्शनी, नाफा, काठमाण्डौंबाट सान्त्वना पुरस्कार, श्री भानु मा.वि., भैरहवा, रुपन्देही २०६६बाट अभिनन्दन–पत्र, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, काठमाण्डौं २०६७बाट कदर–पत्र र ाष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला–२०६७, बुटवल हिलपार्क, रुपन्देहीबाट सम्मान पत्र प्राप्त गर्नु भएको छ।

कलाकार थापासंगै संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले बिभिन्न कलाकारहरुलाई सम्मान गरेको छ। मन्त्रालयले ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कारबाट राष्ट्रिय प्रतिभा पुरस्कारतर्फश्री सन्त कुमार शाक्य (ललितपुर)लाई सम्मान गरेको छ । यसैगरी प्रादेशिक प्रतिभा पुरस्कारतर्फ महोत्तरीका श्री सुनैना ठाकुर (मधेश प्रदेश), शंखरापुर, काठमाडौंका श्री कृष्ण गोपाल श्रेष्ठ (बाग्मती प्रदेश), आँधीखोला, गण्डकीका श्री पदम घले (गण्डकी प्रदेश), गुल्मीका श्री याम बहादुर थापा (लुम्बिनी प्रदेश), कारमारोड, मुगुका श्री सोनाम डोल्मा तामाङ (कर्णाली प्रदेश) र कञ्चनपुरका श्री सुरेश कुमार पाल्पाली (सुदुरपश्चिम प्रदेश) सम्मानित भएका छन।

यसैगरी सङ्गीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कारबाट
नागार्जुन, काठमाडौका श्री माइला लामालाई सम्मान गरिएको छ। यसैगरी सरकारले सङ्गीत तथा नाट्य विधातर्फ नै प्रादेशिक प्रतिभा पुरस्कारबाट पाँचथरका श्री धन कुमार ज्ञाङ्की, ग्याङनी (कोशी प्रदेश), हँसपुर, जनकपुरका श्री राजेश कुमार पासवान (मधेश प्रदेश), काठमाडौंका श्री सरिता गिरी (वाग्मती प्रदेश), स्याङ्जाका श्री सागर लम्साल (गण्डकी प्रदेश), दाङका श्री कमल कुमार शर्मा अर्याल (लुम्बिनी प्रदेश) चन्दननाथ, जुम्लाका श्री सुरज पण्डित (कर्णाली प्रदेश) र सुदुरपश्चिमका श्री विक्रम कुँवर (प्रतिक)लाई सम्मान गरेको हो।

असार २७ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौमा भएको पुरस्कार तथा सम्मान कार्यक्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङगगले कलाकारहरुलाई सम्मान गर्नु भएको हो।

प्रकाशित मिति: २०२४-०७-१२ , समय : ०९:००:०९ , ४ महिना अगाडि