बाल तथा मातृमृत्युदर न्युनिकरणका लागि सरोकारवालासंग अन्तरक्रिया

रुपन्देही खबर , २२५  पटक हेरिएको

कपिलवस्तु, असार १

कपिलवस्तु जिल्लामा बाल तथा मातृ मृत्युदर न्युनिकरण गर्ने उद्धेश्यले यु.सी एम एस शिक्षण अस्पताल, भैरहवाले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वयमा गोरुसिङ्गेमा सरोकारवालाहरुसँग ‘भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को सभापतित्व तथा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि अर्यालले यस्ता कार्यक्रमको आयोजनाले विशेषगरी पिछडिएका तथा अशिक्षित समुदायलाई सरकारको सहृशताब्दी लक्ष्य अनुरुप बाल तथा मातृ मृत्युदर न्युनिकरण गर्न टेवा पुग्ने बताउनु भएको थियो । कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका महिला तथा प्रसुति रोग विभाग विशेषज्ञ उप.प्रा.डा.मनोज लम्साल तथा बालरोग विशेषज्ञ डा.दिनेश चौधरीले स्वास्थ्य क्षेत्रमा हाल विकसित तथा उपलब्ध अत्याधुनिक सीप तथा प्रविधि सम्बन्धमा सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

कपिलवस्तु जिल्लाका कुल ३६ वटा स्वास्थ्य संस्थाको सहभागिता रहेको उक्त कार्यक्रममा कपिलवस्तु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बन्जाडे, जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुका फोकल पर्सन शान्ति भण्डारी लगायतले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा पिपरा अस्पताल, बाणगंगाका मेडिकल सुपरिटेन्डेन्ट डा.तेजेन्द्र चौधरी, कपिलवस्तु जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. सफिना खातुन, डा.गौरव खनाल, व्यवस्थापक मेनुका राना, यु.सि.यम.यस. शिक्षण अस्पतालका वित्त नियन्त्रक सुरज पौडेल, मेट्रोन विष्णु गुरुङ्ग, प्रशासन संयोजक तेज कुमार के.सी. लगायतको सहभागिता रहेको थियो । यु.सि.यम.यस. शिक्षण अस्पतालका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकको स्वागत तथा सुचना अधिकारी सुशील गुरुङ्गको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-१५ , समय : २०:२१:४१ , ४ महिना अगाडि