सिद्धार्थनगरको वडा नम्बर ५ र १३ पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा

उर्मिला यादव , ५५५  पटक हेरिएको

भैरहवा, जेठ १८

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ र १३ वडा कार्यालय पुर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा भएको छ । सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ र १३ वडा वडाध्यक्ष सोम बहादुर गुरुङको अध्यक्षता तथा नगर प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा पुर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा गरिएको हो । यो संगै सिद्धार्थनगर नगरपालिकाको ४ वटा वडा पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएका छन । पुर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा गर्दै नगरप्रमुख खानले सिद्धार्थनगर नगरपालिकाले महिलाहरुलाई प्राथमिकतामा राखि उनीहरुको क्षमता बिकास र महिलाहरुलाई अगाडी बढाउन नगरपालिका सधै प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाले सिद्धार्थनगरपालिकाको हरेक वडामा महिला लक्षित कार्यक्रमहरु संचालन गरी उनीहरुको क्षमता बिकाससंगै आर्थिक उपार्जन संग जोडदै आएकोले यसको फाइदा लिन नगरका महिलाहरुलाई आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई नगरले बिभिन्न किसिमका सहयोग तथा सुबिधा प्रदान गर्दै आएको बताउनु भएको छ । उहाले नगरको पहिलो प्राथमिकता नै स्वास्थ्य क्षेत्र रहेकोले नगरलाई स्वच्छ सफा राख्नमा नगरपालिका खटिएको उल्लेख गर्नु भयो ।

उहाले नगरमा काम गर्दै आएका स्वयमसेबिकाहरुलाई धैर्यताको साथ काम गर्न आग्रह गर्नु भएको छ । नगरप्रमुख खानले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका स्वयमसेबिकाहरु देशको खम्भा भएकोले उनीहरुलाई सरकारले आवश्यक सेवासुबिधा दिनुपर्नेमा जोड दिनु भयो । उहाले नगरभित्र रहेका स्वास्थ्य स्वयमसेबिकाहरुलाई नगरले सधै साथ र सहयोग गर्ने उल्लेख गर्नु भयो ।
यस्तै गरी पुर्ण संस्थागत प्रसुती सेवा युक्त वडा घोषणा कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेलले संस्थागत सुत्केरीका बारेमा जानकारी गराउदै गर्भवती महिलाहरु सुचिकृत स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने बताउनु भएको छ । उहाले गर्भवती महिलाहरु सरकारको प्रोटोकल अनुसार ४ पटक गर्भजाच गराउनु पर्ने बताउदै अस्पतालमा नै सुत्केरी हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको पहिलो प्राथमिकतामा खोप रहेको बताउदै दोस्रो प्राथमिकतामा सुरक्षित मातृत्वलाइ राखेको उल्लेख गर्नु भयो । उहाले २१ औं शताब्दीमा कुनै पनि महिला घरमा सुत्केरी नभइ सुचीकृत संस्थामा मात्र सुत्केरी हुुनुपर्ने बताउनु भएको छ । उहाले सिद्धार्थनगरमा भिम अस्पताल भैरहवा र युनिभर्सल मेडिकल कलेज भैरहवा सुचीकृत संस्था भएकोले यहा सुत्केरी भएको अवस्थामा सुत्केरी शुल्क निशुल्क र पालिकाद्धारा बिभिन्न किसिमका सेवासुबिधा पाउन सकिने बताउनु भएको छ । उहाले सिद्धार्थनगर पालिका भित्र रहेका १३ वडामध्ये ४ वटा वडा पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको जानकारी दिनु भएको छ । जसमा वडा नम्बर १,३, ५ र १३ वडा रहेका छन । उहाले यहि आर्थिक बर्षमा १३ वटै वडालाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गर्दै पालिकालाई पनि घोषणा गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।

यस्तै गरी सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाभित्र कार्यरत महिला स्वास्थ्य स्वयमसेबिकाहरुको हकहितका लागी वडाबाट पहल गर्ने बताउनु भएको छ । उहाले सेवासुबिधा उपलब्ध गराउने कुरामा आगामी दिनमा पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाले महिलाहरुलाई अगाडी बढाउन र रोजगारी क्षेत्रमा जोडनका लागी सीपमुलक तालिमहरु संचालन गरी जिबिकोपार्जनमा सहयोग गर्दै आएको बताउनु भएको छ । उहाले नगरपालिकाको हरेक वडामा मैनबत्ती, चुरापोते, ब्याग तथा जुत्ता बनाउने तालिम, ब्युटीपार्लर तालिम, अचार बनाउने तालिमहरु महिलाकेन्द्रित कार्यक्रमहरु ल्याएर महिलाहरुलाई आर्थिक उपार्जन सित जोडदै लगेको बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका महिलाहरु प्रति सकरात्मक रहेको जोड दिदै महिलाको जिवनस्तर उकास्नका लागी वडाले बिभिन्न किसिमका तालिमहरु ल्याएर आत्मनिर्भर बनाउदै आएको बताउनु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को वडासदस्य बिष्णु माया कुमालको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत देव प्रसाद ज्ञवाली, बरिष्ठ समाजसेवी नारायण प्रसाद अग्रवाल, सिनपा वडा नम्बर १३ का निर्वतमान वडासदस्य प्रकाश बहादुर खडका, भैरहवा उच्च माबिका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले बोल्दै सिद्धार्थनगर नगरपालिकाले नमुना कार्य गर्दै आएको बताउनु भएको थियो ।

सिनपा वडानम्बर ५ को महिला वडा सदस्य सरस्वती श्रेष्ठलेसंचालन गर्नु भएको कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्र सिनपा ५ र १३ का सिनियर अनमी प्रकृति खत्री, अनमी सिमा क्षेत्री र वडा नम्बर ५ का स्वयंमसेवीकाहरु पुजा पाण्डे ,लक्ष्मी देवकोटा माली, माया तेली, राधिका तेलीलाई सम्मान गरिएको थियो । भने वडा नम्बर १३ का स्वयंमसेवीकाहरु बिष्णु माया शाक्य,सरस्वती राज भण्डारी , पुस्पा पुन,कबिता शर्मा,पुनम शाक्य, बिष्णु माया थापालाई स्वास्थ्य क्षेत्रमा गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडासदस्यहरु किरण देवी सुनार,बिनित बेरिवाल, प्रेम नारायण तेली , वडा नम्बर १३ का वडासदस्य निलु श्रीस मगर ,बिष्णुमाया खनाल, जिवन खत्री,अरुण घर्ती मगर , वडा नम्बर ५ का सचिव बन्दना उपाध्याय, वडा नम्बर १३ का वडा सचिव लेख बहादुर गुरुङ लगायत सिद्धार्थनगर नगरपालिकाका पदाधिकारी , सरोकारवाला ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-३१ , समय : २०:५७:२४ , ६ महिना अगाडि