रुपन्देही खबर , २२७ पटक हेरिएको
तिलोत्तमा,जेठ १७
अभिभावक उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम आज बिहीबार रूपन्देहीको तिलोत्तमा–१४ स्थित दुर्गा मा.वि. मा सम्पन्न भएको छ ।तिलोत्तमा नगरमा क्रियाशील टिकुलीगढ सिकाई केन्द्रको आयोजना र टिकुलीगढ शैक्षिक मञ्चको संयोजनमा साविकको टिकुलीगढ गा.वि.स. अन्तर्गतका विद्यालयका लागि बुधबार देखि शुरू गरिएको तीन दिने कार्यक्रम आज (बिहीबार) दुर्गा मा.वि.मा आयोजना गरिएको हो ।
सिकाई केन्द्रका अध्यक्ष एवम् मञ्चका संयोजक श्यामलाल खरेलको अध्यक्षतामा तिलोत्तमा नगरका सामाजिक विकाश संयोजक तथा कार्यपालिका सदस्य रवि सेञ्चुरीले तालिम उद्घाटन गर्दै प्रशिक्षणमार्फत् मानव विकाशबाटै सामाजिक विकाश हुने बताउनुभएको छ ।
कार्यक्रममा, उत्प्रेरणा प्रशिक्षक एवम् राममणि बहुमुखी क्याम्पसका उप–प्राध्यापक मुक्तिनाथ गैह्रेले असल अभिभावकत्व शैलीबारे अन्तक्र्रिया र उदाहरण सहित सहजीकरण गर्नुभएको थियो ।
दुर्गा मा.वि.का सहायक प्रधानाध्यापक सुमित्रा घिमिरेको सञ्चालन र सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ता खरेलको स्वागतमा भएको कार्यक्रममा तिलोत्तमा–१४ का वडा सदस्य भूपाल सिंह छन्तेल, बभनी भू.पू. सैनिक विद्यालयका अध्यक्ष रतन भण्डारी, बालमैत्री समूह तिलोत्तमाका संयोजक विवेक खड्का लगायतले बोल्दै अभिभावकको सचेतनाबाट समाज जागृत हुने बताउनुभएको थियो ।
दोस्रो दिनको प्रशिक्षण समापन गर्दै टिकुलीगढ सिकाई केन्द्रका अध्यक्ष श्यामलाल खरेलले २०८५ देखि स्थानीय तहका सबैखाले प्रतिनिधित्वका लागि न्यूनतम आधारभूत शिक्षा (८ कक्षा) अध्ययन गरेको हुनैपर्ने प्रावधान लागू हुने भन्दै स्थानीय बासी सबैको प्रतिनिधित्वको योग्यताका लागि सिकाई केन्द्रले आधारभूत तह सरहको शिक्षा सञ्चालन गर्ने समेत जानकारी दिनुभयो ।
साविकको टिकुलीगढ गा.वि.स. अन्तर्गत अर्थात् तिलोत्तमा १३ र १४ का सबै सामुदायिक विद्यालयका अभिभावकका लागि गरिएको कार्यक्रम अन्तर्गत आज (बिहीबार) दुर्गा मा.वि. र बभनी भू.पू. सैनिक आधारभूत विद्यालयका अभिभावक, व्यवस्थापन समिति र प्रधानाध्यापकहरू सहित ११५ जनाको सहभागितामा प्रशिक्षण भएको थियो ।
बुधबार टिकुलीगढ मा.वि.मा आयोजित तीन दिने कार्यक्रम उद्घाटन सहित पहिलो दिनको प्रशिक्षण सम्पन्न भएको छ भने शुक्रबार जनता मा.वि. तीनधुरेमा अन्तिम प्रशिक्षण सञ्चालन गरी कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०५-३० , समय : २२:४६:३० , ६ महिना अगाडि