रुपन्देहीमा चोरी तथा लुटपाटका घटनामा संलग्न चारजना पक्राउ

रुपन्देही खबर , ६७८  पटक हेरिएको

भैरहवा, चैत १

रुपन्देहीमा चोरी तथा लुटपाटका घटनामा संलग्नका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का २५ वर्षिय मनिष हरिजन मोटरसाईकल चालक, सोही स्थानका २४ वर्षिय देवान गुरुङ, सिद्धार्थनगर–१३ का २४ वर्षिय रोमन घर्ती र सियारी गाउँपालिका–३ का ३१ वर्षिय मोहम्मद रसिद मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी मनोहर प्रसाद भट्टले बताउनु भएको छ ।

बुधबार पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न कम्पनीका ८ थान मोबाईल र लु ५६ प ७१७ नम्बरको मोटरसाईकल बरामद गरिएको उहाले जानकारी दिनु भयो । जिल्लाका विभिन्न स्थानहरुमा केही समयदेखि मोटरसाईकलमा आएका व्यक्तिहरुले सर्वसाधारणको हातबाट मोबाइल लुटेर भाग्ने गरेको प्राप्त सूचनाअनुसार अनुसन्धान भएको र चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको डीएसपी भट्टले जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुले विभिन्न स्थानमा मोबाईल बोकेर उभिएका मानिसहरु नजिकै मोटरसाईकलमा एक्कासी पुगी अति जरुरी समस्या परेकोले १ कल फोन गर्न भनि मोबाईल मागी भाग्ने र साथै एक्लै बसेका सर्वसाधारणको हातमा बोकेका मोवाईल खोसी भागी फरार हुने अनुसन्धानबाट खुलेको छ । उनीहरुले लुटेको मोबाईल विभिन्न स्थानहरुमा रहेका मोर्बाइल पसलहरुमा लगी विक्रीवितरण गर्ने तथा मोबाइल विक्रीवापतको रकमले विभिन्न किसिमका लागु औषध खरिद गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई चोरी तथा डाँका कसूर शिर्षकमा मुद्दा दर्ता भई बिहीबार रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी तथा लुटपाटको घटनामा संलग्न व्यक्तिलाई कसूरको अवस्था हेरी २ वर्षदेखि ७ वर्षसम्म कैद र २० हजारदेखि ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: २०२४-०३-१४ , समय : २१:४०:३७ , ८ महिना अगाडि