सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन उदघाटन

रुपन्देही खबर , २५०  पटक हेरिएको

सैनामैना,फागुन २४

सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन विहिवार उदघाटन भएको छ । प्रशासनिक भवनको एक समारोहका बीच उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरवारको अधिकार गाउँसम्म आएको कुरा बताउँदै वडा नंं ९ को प्रशासनिक भवनबाट सेवाग्राहीलाई सेवा दिन अझै सहज हुने बताउनु भयो । उहाँले जनताले नै आफूहरुलाई निर्वाचित गरेर पठाएकोले सेवाग्राहीको सेवा र सुविधालाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहमति र सहकार्यको आधारमा काम गरियो भने हामीले धेरै काम गर्न सक्छौ भन्दै साना साना काममात्रै होइन ठूलो काम पनि सजिलो गर्न सक्ने बताउनु भएको छ ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानु पाण्डेले वडा कार्यालयको प्रशासनिक भवनको जग्गा निशुल्क दिने कुराको प्रसंग स्मरण गर्दै पैसा धेरैसंग हुन्छ, अर्बपतिसंगै पैसासंगै जग्गा पनि हुन्छ तर पैसा र जग्गा भएरमात्रै हुँदैन मन पनि हुनुपर्छ भन्नुभयो ।

उहाँले त्यही जग्गा दान गर्ने मन भएकै कारण स्थानीय शालिग्राम घिमिरे र थानेश्वर पाण्डेले वडा कार्यालय र आधारभूत स्वास्थ्य कार्यालय बनाउन साढे तिन कट्ठा जग्गा दिनुभएको बताउँदै त्यही जग्गामा अहिले वडा कार्यालय बनेको बताउनु भयो । वडा भवनको शिलान्यास गत बर्ष माघ १२ गते भएको थियो । करिव १ करोड ५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

सैनामैना वडा न. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले वडा नं. ९ काअध्यक्ष तथा निर्वतमान वडा अध्यक्ष डोलराज भण्डारी, नेपाली कांग्रेश वडा नं. ९ का सभापति ईश्वरी तिवारी, नेकपा माओवादी जिल्ला सल्लाहकार तिलक नेपाली , राष्टिय प्रजातन्त्र पाटी प्रतिनिधि सागर लम्साल, जनचेतना माध्यमिक बिद्यालयका अध्यक्ष धर्मराज आत्रेय लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य तुल्सी प्रसाद रिजालको स्वागत रहेको कार्यक्रम संचालन वडा सचिब कपिल पौडेलले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : २३:११:४९ , ९ महिना अगाडि