रुपन्देहीमा यादवको मृत्युको घटना शंकाष्पद भएको भन्दै निष्पक्ष छानबीनको माग

रुपन्देही खबर , ८३१  पटक हेरिएको

भैरहवा, १ असार

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित होटल सी प्रिन्स बाहिर भुइमा लडेको अवस्थामा भेटिएका २४ वर्षिय युवा अमित यादवको मृत्युको घटना शंकाष्पद भएको भन्दै निष्पक्ष छानबीनको माग गरिएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २४ वर्षिय यादवको मृत्यु के कसरी भयो त्यसको निष्पक्ष छानबिन गर्न माग गरिएको हो ।

बुधबार मधेश मानव अधिकार गृहका अध्यक्ष रामविकास चौधरी, तराई सामुदायिक विकास केन्द्रका अध्यक्ष राजेश हरिजन र नमो बुद्ध समाज रुपन्देहीका अध्यक्ष विकास यादवले संयुक्त विज्ञप्ती जारी गर्दै मृतकको परिवारको सदस्यलाई समेत सहभागी गराई उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

 

भैरहवामा रहेको उक्त होटलमा यो घटना के कसरी भयो ? होटेलमा भएको सुरक्षा व्यवस्था, सीसीटीभी फुटेज लगायतका बारेमा सत्यतथ्य बाहिर आउन जरुरी रहेको उनीहरुको माग छ ।

‘रुपन्देही प्रहरी र होटल सञ्चालकका अनुसार गत जेठ २७ गते शुक्रबार राती ७ जनाको समूहमा युवाहरु बस्न आएको र तीमध्ये अमित यादवको जेठ २८ गते शनिबार मृत्यु भएको हो । रुपन्देही प्रहरीका अनुसार उक्त घटनाको अनुसन्धान भइरहेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको छ, ’विज्ञप्तीमा उल्लेख छ ।

 

‘होटल तथा सडकको सीसीटीभी फुटेज सार्वजनिक गर्न र घटनामा संलग्न देखिएकाहरुको पहिचान गरी कोही दोषी देखिए कडा भन्दा कडा कानूनी कारवाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

श्रोत : खबर पात्रो

प्रकाशित मिति: २०२२-०६-१५ , समय : २२:२४:४५ , २ वर्ष अगाडि