आधुनिक मेशिनसहित सियारीमा फिजियो थेरापी सेवा सुरु

रुपन्देही खबर , २०३  पटक हेरिएको

भैरहवा, फागुन २०

रुपन्देहीको सियारी गाउँपालिकाले आधुनिक मेशिनसहित फिजियोथेरापी सेवा सुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहँुच र्पुयाउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो । सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरेको बताउनु भएको छ ।

अध्यक्ष घिमिरेले एक जना फिजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापी गरे बापतको शुल्क लगायत तिर्दा एक भन्दा बढी हुने र समयको पनि बचत नहुने हुदा यी सबै कुराबाट नागरिकलाई सुबिधा दिनका लागि पालिकाबाटै फिजियो थेरापी शुरु गरेको बताउनु भएको छ । अध्यक्ष घिमिरेका अनुसार सियारीमा फिजियो थेरापी गर्दा बढीमा १ सय ५० देखि दुईसय सम्म हुन सक्ने गरी शुल्क तय गर्न लागिएको बताउनु भएको छ । पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रसको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आबश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताउनु भएको छ ।

आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवि, सुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिनु भएको छ । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगायत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनु भएको छ । पालिका भित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्राहीले बताएका छन । सियारी ४ का स्थानिय बुद्धिप्रसाद पोखरेल तथा सावित्रि पोखरेलले गाउँमै सेवाआएपछि आफुहरुलाई निकै सहज भएको बताउनु भएको छ ।

बुढेशकालमा धेरै टाढा पुगेर उपचार गर्दा आर्थिक समस्याका साथै समय पनि खर्च हुने गरेको थियो गाउँमा आएपछि निकै सहज भएको छ, स्थानिय बुद्धिप्रसाद पोखरेलले बताउनु भयो ।
गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल््क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ ।

प्रकाशित मिति: २०२४-०३-०३ , समय : १०:१५:१२ , ८ महिना अगाडि