रुपन्देही खबर , ३१५ पटक हेरिएको
मणिग्राम, फागुन १४
“जागरण शिक्षामा जेसीज” शीर्षकमा भलवारी जेसीजले रूपन्देहीको तिलोत्तमा नगरका कक्षा ११ तथा १२ का विद्यार्थीमा उत्प्रेरणा शिक्षा आज (सोमबार) देखि सञ्चालन गरेको छ । आज (सोमबार) प्यारामाउण्ट आवासीय मा.वि.मा उद्घाटन गर्दै नगरव्यापी उत्प्रेरणा शिक्षा सञ्चालन गरिएको भलवारी जेसीजका कानुनी सल्लाहकार प्रताप भण्डारीले जानकारी दिनुभएको छ ।
नगरव्यापी कार्यक्रम उद्घाटन गर्दै रूपन्देहीका अग्रज उद्यमी, समाजसेवी एवम् विद्यालयका अध्यक्ष पूर्णप्रसाद सापकोटाले जेसीजले किशोरावस्थाका विद्यार्थीमा जागरण अभियान सञ्चालन गर्नु समाजको दिगो विकाशका दृष्टिले उत्कृष्ट हुने बताउनुभयो ।
भलवारी जेसीजका अध्यक्ष सी.पी. भट्टराई (जीवन) को अध्यक्षता, कोषाध्यक्ष रूपेश पाण्डेको संयोजकत्व तथा महासचिव मिनप्रसाद तिवारीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।
सो अवसरमा प्रशिक्षक मुक्तिनाथ गैह्रेले विद्यार्थीहरु गम्भीर हुनुपर्ने विषय, परीक्षाको तयारी, वृत्ति विकाशका शैली, पारिवारिक तथा सामुदायिक संस्कारको अपनत्व, कर्मशीलताको नतीजा, स्वास्थ्य, जीवनशैली लगायतमा अन्तरक्र्रिया र क्रियाकलापसहित जागरणका नमूना प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२४-०२-२६ , समय : २०:४९:१३ , ९ महिना अगाडि