उर्मिला यादव यात्री , ३४२ पटक हेरिएको
भैरहवा, फागुन १०
ओमसतिया गाउपालिकाले दादुरा रुवेला खोप अभियान २०८०,८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउपालिका भित्र रहेका ९ महिना देखी १५ बर्ष भित्रका सबै बालबालिकाहरुलाई शतप्रतिशत खोप लगाउने उदेश्यका साथ दादुरा रुवेला खोप अभियान संचालन गरिएको ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिनु भएको छ । उहाले ओमसतिया गाउपालिका भित्र फागुन १३ गते देखि १७ गते सम्म पहिलो चरणमा खोप अभियान संचालन हुने बताउनु भयो ।
नेपाल सरकारले प्रतिबद्धता गरे अनुरुप २०२६ सम्म दादुरा रुवेलालाई निवारण गर्दै शुन्यमा झार्ने र दिगो बिकास २०३०को लक्ष्य अनुरुपका कार्यक्रमहरु संचालन गर्ने, जसको लागी दादुरा रुवेलालाई निवारण गर्ने एउटा मात्र अस्त्र खोप भएकोले यसको निवारण गर्ने लक्ष्यका साथ ब्यवस्थित र तरिकाले खोप लगाएर बालबालिकालाई पुर्ण रुपमा खोपबाट सुरक्षित गर्ने र यसलाई नियन्त्रण गर्नका लागी पालिकामा कोही पनि दादुरा रुबेलाको संक्रमित नहोस भन्ने उदेश्यले यो पालिकाबाट दादुरा रुवेला निवारण गर्नका लागी अभियान सम्पन्न गर्न गैरहेको बताउनु भएको छ । यसमा सहयोगी संघसंस्था, बिभिन्न निकायहरु संग समन्वय गरेर काम गरेको बताउनु भयो । पालिका भित्र रहेका बिद्यालयहरुलाई खोप केन्द्र बनाएर कक्षा एक देखि कक्षा १० सम्पुर्ण बिद्यार्थी लगायत ५ बर्ष भन्दा माथिका बिद्यालय नजाने बालबालिकाहरुलाई समेत बिद्यालयमा बोलाएर खोप लगाइने जानकारी दिनु भयो । उहाले छुटेका बालबालिकाहरुलाई फागुन १७ गते स्वास्थ्य संस्थामा क्याम्प राखेर खोप लगाउने योजना बनाएको बताउनु भएको छ ।
उहाले स्वास्थ्यकर्मि, खोप लगाउने स्वास्थ्यकर्मि, बिद्यालयका प्रधानअध्यापक देखि यसमा सहयोग गर्ने जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका लगायतलाई अभिमुखीकरण गरिएको बताउनु भयो । यस्तै जिल्ला स्वास्थ्य कार्यालयबाट प्रचार सामाग्री प्राप्त भएको बताउदै उहाले अब घर घरमै निमन्त्रणा दिने काम गर्ने बताउनु भएको छ ।
यता दादुरा रुवेला खोप अभियान २०८०,८१ सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरु अभियानका क्रममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । अभियान सुरु हुनु अघि बालबालिका तथा उनिहरुका अभिभावकलाई जानकारी गराउन देखि अभियानका दौरान खोप केन्द्र सम्म उनिहरुलाई ल्याउन सहजीकरण गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बताउनु भएको छ ।
रुपन्देही जिल्लामा दुई चरणमा दादुरा खोप अभियान सञ्चालन हुदैछ । पहिलो चरणमा ओमसतिया सहित जिल्ला ९ वटा पालिकामा फागुन १३ गते देखि १७ गते सम्म र दोश्रो चरणमा बाँकी पालिकामा फागुन २० गते देखि २४ गते सम्म अभियान सञ्चालन गरिदै छ । ९ महिना देखि १५ बर्ष सम्म बालकालिकाहरुलाई दादुरा रुबेला रोगबाट जोगाउन अनिवार्य रुपमा खोप दिईने ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले बताउनु भएको छ । उहाले पालिकामा करिब ११ हजार बालबालिका रहेको बताउदै शत प्रतिशत बालबालिकाहरुलाई खोप दिने प्रयास रहने बताउनु भएको छ ।
अभियान अन्र्तगत लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर उक्त रोग बिरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि रोग संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने लक्ष्य रहेको छ । यस्तै सोही अवधिमा ५ बर्ष मूनिका बालबालिकाहरुको नियमित खोपको अवश्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजीकरण समेत गरिने क्षेत्रीले बताउनु भयो ।
तराईका जिल्लाहरु दादुराको जोखिममा धेरै रहेको र यसबाट ज्यान समेत जान सक्ने भएकोले यसबाट जोगिन अभियानमा सबैलाई साथ दिन गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव सोनुले आग्रह गर्नु भएको छ ।
उहाले बिद्यालय नजाने उमेरका तथा अन्य पालिकाका बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई अभिभावकलाई बिशेष ध्यान आग्रह गर्नु भएको छ । सरकारले दादुरा रुबेला रोगलाई सन २०२६ सम्म निवारण गर्ने लक्ष्य सहित दादुरा रुबेला खोप अभियान सञ्चालन गर्दैछ । ओमसतिया गाउपालिकाले आयोजना गरेको दादुरा रुवेला खोप अभियान २०८०,८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष मन्जित कुमार यादवले गर्नु भएको थियो भने कार्यक्रम संचालन गाउपालिकाको नर्सिंग अफिसर सस्मिता खत्रीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०२-२२ , समय : २३:१६:४२ , ९ महिना अगाडि