रुपन्देही खबर , ११५९ पटक हेरिएको
मर्चवार, फागुन १०
साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहाको अध्यक्षमा पुनः ओम प्रकाश यादव गुल्जारी निर्वाचित हुुनु भएको छ । बिहिबार सम्पन्न संस्थाको २० औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले आगामी ४ बर्षे कार्यकालको लागि पुनः यादवकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अनुरुध प्रसाद बनिया रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा राम कुमार यादव, दिनेश बरई, संगिता यादव, शोभा यादव, कमला यादव र भगवानदास कुर्मी रहेको संस्थाका ब्यवस्थापक अभय तिवारीले जानकारी दिनु भएको छ ।
संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खाँनले ढुक्क भएर साना किसान कृषि सहकारीमा लगानी गर्न आग्रह गर्नु भएको छ । उहाले सहकारीहरुबारे बजारमा अनावश्यक हल्ला फैलाईएको बताउदै यसबाट जोगिन शेयर सदस्यहरुलाई आग्रह गर्न भएको छ । ३ हजार ६ सय बढी शेयर सदस्य रहेको सहकारी त्यसै जोखिममा नपर्ने उहाले जिकिर गर्नु भएको छ । सहकारीमा सहकारी बिभाग संगै अन्य धेरै निकायहरुको अनुगमनकारी भूमिका रहेको हुदा नडराउन उहाले शेयर सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।
प्रदेश सांसद खाँनले प्रदेश सरकारको औचित्य पुष्टि गर्दै यसले सरकार र जनतालाई सिधा जोडेको बताउनु भएको छ । मर्चवारको विकासमा २ अर्ब भन्दा बढीको लगानी गरिसकेको बताउदै उहाले मर्चवारमा क्याम्पस, पुल देखि बाटोमा प्रदेश सरकारले लगानी गरेको दावी गर्नु भएको छ । उहाले मर्चवारको लाइफलाईनको रुपमा रहेको ४ लेनको बाटो बिभिन्न अवरोधहरु पन्छाई सम्पन्नता उन्मुख रहेको बताउनु भएको छ । सोही बाटोलाई आगामी बर्ष देखि खैराघाट सम्म पुग्ने गरि बजेट बिनियोजनको तयारी भईरहेको उनले जानकारी दिनु भएको छ ।
पूर्व कृषि राज्यमन्त्री समेत रहनु भएको सहकारीका अध्यक्ष ओमप्रकाश यादव गुल्जारीले केहि अवाञ्छित तत्वहरु दुख दिने नियतका साथ अनावश्यक हल्ला फैलाएको गुनासो गर्नु भएको छ । उहाले आर्थिक मन्दीको मौका छोपी सहकारीलाई सकाउने खेल भए पनि आफुले त्यसलाई असफल बनाइ दिएको दावी गर्नु भएको छ । उहाले सहकारीका सदस्यहरुलाई उनिहरुले खोजेकै आधारमा बचत तथा ऋण लगानी गरेको बताउनु भएको छ । यादवले पनि साना सहकारी अन्य सहकारीहरु भन्दा फरक प्रकृतिको सहकारी संस्था रहेको बताउनु भएको छ । सरकारको प्रत्यक्ष निगरानीमा रहेको साना सहकारीहरुमा कसैले पनि अनियमितता गर्न नसक्ने उहाको जिकिर थियो ।
सहकारीका ब्यवस्थापक अभय तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डे, साना किसान लघुवित्तका बुटवलका शाखा प्रवन्धक गणेश प्रसाद भट्टराई, अधिकृत निरन्जन निषाद लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०२-२२ , समय : १९:३०:५५ , ९ महिना अगाडि