राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० को उपाधी मुनलाइटलाई

रुपन्देही खबर , ४७४  पटक हेरिएको

भैरहवा, फागुन २
रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८० को उपाधी मुनलाइट आवासीय उच्च माध्यमिक विद्यालयले उचालेको छ ।


सिद्धार्थनगर नगरपालिका–३ स्थित भैरहवा खेलमैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको विभिन्न खेलमा १० स्वर्ण, ५ रजत र २ कास्य गरी १७ पदक प्राप्तीसँगै मुनलाइटले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि उचाल्न सफल भएको छ ।

यस्तै गरि रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयले ७ स्वर्ण, ९ रजत र ६ कास्य गरी कूल २२ पदक प्राप्त गरी द्वितीय र ७ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १८ पदक सहित जेसीज माध्यमिक विद्यालय तृतीय भएको छ ।

समापन समारोहमा विजेताहरुलाई राष्ट्रपति रनिङ शिल्ड (प्रथमलाई), पदक, ट्रफी, मेडल र प्रमाणपत्रहरु सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले प्रदान गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खानले सिद्धार्थनगर खेलाडीको उर्वरभूमि रहेको भन्दै आफूहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । उहाले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताउदै खेलमैदानलाई समेत स्तरोन्नति गर्दै लैजाने बताउनु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले नगरपालिकाको आफ्नै खेलमैदान प्रतियोगिता सञ्चालन गर्न पाउनु सबैहरुका लागि गौरवान्दित विषय भएको बताउनु भएको छ । उहाले परियोजनामार्फत नगर क्षेत्रमा नालासहित सडक पूर्वाधारका निर्माण कार्य हुने भएकोले अगामी दिनहरुमा शिक्षा, स्वास्थ्य र खेलकुदतर्फ विशेष ध्यान दिइने जोड दिनु भएको थियो ।

प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दो खेल भएको सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेले बताउनु भएको छ । उहाका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्तर्गत छात्रातर्फ १ सय, १ सय, ४ सय, ८ सय, १ हजार ५ सय, ३ हजार, ४ हजार १ सय, ४ हजार ४ सय मिटर र छात्रतर्फ सोहीअनुसारको रिले दौड भएका थिए ।

त्यस्तै छात्र र छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । त्यस्तै तेक्वान्दो खेलको छात्रा ४२ के.जी तौल समूह मुनी, ४४ के.जी मुनी, ४६ के.जी मुनी, ४९ के.जी मुनी, ५२ के.जी मुनी तौल समूह, एकल पुम्से तथा छात्र ४५ के.जी मुनी, ४८ के.जी, ५१ के.जी, ५५ के.जी, ५९ के.जी मुनी तौल समूहका र एकल पुम्सेका खेल भएको थियो । २९ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा कुल ४२ वटा खेलका इभेन्टहरु भएको थियो ।

 

प्रकाशित मिति: २०२४-०२-१४ , समय : १४:४७:५२ , ८ महिना अगाडि