सिद्धार्थनगरद्वारा अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

रुपन्देही खबर , ३६०  पटक हेरिएको

भैरहवा, माघ २८

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा नगरस्तरिय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आईतबार देखि सुरु भएको छ । भैरहवाको दरखसवा खेलमैदानमा सुरु भएको तीन दिने प्रतियोगिताको रुपन्देही जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै चपाईले सिद्धार्थनगर नगरपालिकाले नगर स्तरिय धेरै खेलकुद प्रतियोगिताहरुको आयोजना गरेको भन्दै प्रसंशा गर्नु भएको थियो । उहाले भैरहवाले धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन गरेको बताउदै यसमा नगरपालिकाको भूमिका अहम रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले खेल नगर र देशको लागि मात्र नभई आफ्नै स्वास्थ्यको लागि महत्वपूर्ण रहेको बताउनु भएको छ । खाँनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई नगरले पुरस्कृत गर्ने घोषणा समेत गर्नु भएको छ ।

नगरस्तरिय सामुदायिक र संस्थागत समेत गरि प्रतियोगितामा २९ बिद्यालयहरुले सहभागीता जनाएका छन् । कबड्डी, दौड, तेक्वान्दो, भलिबल, शटपुट, जेवलिङ्ग थ्रो, लङ्गजम्प लगायतका खेलहरु प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगितामा ८ सय ३९ जना खेलाडीहरुले सहभागीता जनाएको नगरप्रमुख खाँनले बताउनु भयो ।

सिद्धार्थनगर नगर पालिका प्रमुख ईस्तियाक अहमद खाँनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख उमा अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष बिरेन्द्र श्रीवास्तव, प्याब्सन केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी, बेलहिया माध्यमिक बिद्यालयकी प्रधान अध्यापक बीना भण्डारीले बोल्दै नगर स्तरिय खेल गतिविधिहरु बढाउदै लैजानुपर्ने बताउनु भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील  लम्सालको स्वागत एवम शिक्षा शाखा अधिकृत जान्हवी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-११ , समय : १९:५१:०२ , १० महिना अगाडि