सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं स्थापना विभिन्न कार्यक्रम गरि मनाइयो

बास्तबिक किसानहरुलाई पहुच हुने खालका योजनाहरु ल्याउने बिषयमा छलफल

नन्दु कवर , २९६  पटक हेरिएको

सुनवल, माघ १९

श्री सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहिले आफनो २६ औं स्थापना दिवसको अवसरमा सम्मान तथा रणनैतिक योजनाका लागी छलफल गरेको छ । संस्थाका अध्यक्ष यमलाल पाण्डेको अध्यक्षता तथा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै नगर उपप्रमुख दुबेले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका समाजमा महत्वपूर्ण रहेको बताउनु भएको छ । केही सहकारीका गलत क्रियाकलापले राम्रा काम गरेका अन्य सहकारीहरुलाई हेर्ने नजर फरक हुदा यस्ता समस्या निराकार गर्न सहकारीका सदस्यहरु केन्द्रित भएर काम गर्नुपर्ने बताउनु भयो । उपप्रमुख दुबेले सदस्य केन्द्रित नभएका सहकारी समस्यामा परेको बताउँदै सहकारीले बचत संकलन सँगै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताउनु भएको छ । उहाले सहकारीले समाजमा विश्वास आर्जन गर्ने खालका गतिविधि सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

यस्तै गरी जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु पौडेलले आर्थिक सामाजिक विकाससंगै नागरिकहरुलाई सम्मानित भएर बाँच्नका लागि सहकारीहरुले सहयोग पुयाउनु पर्ने बताउनु भएको छ । उहाले सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुसार सहकारीलाई अगाडि बढाउन सके, समाजमा आर्थिक सामाजिक रुपान्तरणसंगै सामाजिक न्याय स्थापित गर्न सकिनेमा जोड दिनु भएको छ ।

कार्यक्रममा रणनैतिक योजनाका लागी सरोकारवालाहरु संग छलफल गर्दै सहकारीलाई दिगो रुपमा टिकाउनका लागी तीस बर्ष भित्रमा रणनैतिक योजना तयार गर्ने गरी सहकारी र बास्तबिक किसानहरुलाई पहुच हुने खालका योजनाहरु ल्याउने बिषयमा छलफल गरिएको छ । साथै महिला उद्यम बिकासका लागी नया नया रोजगार तथा सीपमुलक तालिमहरुका बिषयमा छलफल गरिएको थियो ।

संस्थाले २६ औं स्थापना दिवसको अवसरमा १३ जना जेष्ठ नागरिक शेयर सदस्यहरु टेक प्रसाद अर्याल,फसुंराम पाण्डेय, भोजराज पाण्डेय, चन्द्रप्रसाद भण्डारी खगिसरा भट्टराई, रोमकान्त पाण्डेय, जगन्नाथ न्यौपाने, रामप्रसाद पराजुली, हरिलाल पाण्डेय, ईन्द्रबहादुर केसी, शिवराम न्यौपाने,पितमाया दर्लामी जयप्रकाश गुप्तालाई नगदसहित प्रमाणपत्र दोसल्ला उठाई सम्मान गरिएको थियो ।

यस्तै गरी उत्कृष्ट ऋणी बिरमाया थापा, उत्कृष्ट सजिलो बचतकर्तामा सरस्वति यादब, उत्कृष्ट नियमित बचतकर्तामा बाबुराम चापागाइर्, उत्कृष्ट बाल बचत मा सन्देश थापा सारु, उत्कृष्ट खुत्रुके बचतमा रोयल दर्लामी, उत्कृष्ट दैनिक बचतकर्तामा यमबहादुर राना,उत्कृष्ट ऐच्छिक बचतकर्तामा जगन्नाथ न्यौपान,े उत्कृष्ट कर्मचारीमा पुनम तिवारी लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै गरी उत्कृष्ट अंक ल्याएका बिद्यार्थीहरुमा सचिन भट्टराई, मिनाक्षी पाठक, नम्रता न्यौपाने ,नविन पाण्डेय रोशनी भट्टराई, इन्द्र अधिकारी, समिक्षा तिवारी, प्रसन्न पाण्डेय, सुनिमा मगर, साहिल पौडेल, समिक्षा थापा स्वस्तिका भण्डारी, शिला देवी पाण्डेयलाई प्रमाणपत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष जयाराम बस्यालको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन संस्थाका सचिव रमेश पराजुलीले गर्नु भएको थियो ।

यस्तै गरी श्री सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहिले आफनो २६ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा २१ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष यमलाल पाण्डेले जानकारी दिनु भएको छ । वार्षिकोत्सवको अवसर पारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम गरेको र विभिन्न समयमा यस्तो सामाजिक कार्यक्रम गर्दै जाने अध्यक्ष पाण्डेले बताउनु भएको छ । रक्तदान कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा सर्वसाधरणहरूले रक्तादन गरेका थिए । नेपाल रेड्क्रस सोसाइटी रक्त संचार सेवा केन्द्र परासीको सहयोग साथै रामनगर जेसिसको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १८ जना पुरुष ३ जना महिलाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति: २०२४-०२-०२ , समय : १०:१६:२९ , १० महिना अगाडि