रुपन्देही खबर , ३१० पटक हेरिएको
बुटवल ,माघ ३
संचारकर्मीका लागी डिजिटल प्रबिधि तथा अनलाइन ब्यवस्थापन तालिम आज देखि बुटवलमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह लुम्बिनी प्रदेशको समन्वयमा तीन दिने तालिम सञ्चालन गरिएको हो ।पत्रकारमा पछिल्लो डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउने उदेश्यले तालिम आयोजना गरिएको युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले जानकारी दिनु भएको छ ।
तालिमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले पत्रकारले लेख्ने समाचार निश्पक्ष र स्वतन्त्र भएर लेख्नुपर्ने बताउनु भएको छ । उहाले निष्पक्ष भएर समाचार लेख्दा त्यसले सबैलाई न्याय गर्ने बताउँदै अन्यायका विरुद्ध कलम चलाउने पत्रकारले कसैलाई अन्याय हुनेगरी समाचार लेख्न नहुने बताउनु भएको छ । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, टुना टेक्नोलोजिका सर्वजित मिश्रा, अमृता अनमोल,माया केसी लगायतले तालिममा बोल्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-१७ , समय : १३:५४:०२ , १० महिना अगाडि