भन्सार छलेर ल्याउँदै गरेकोे औषधि सहित मानिस प्रहरीको नियन्त्रणमा

उर्मिला यादव यात्री , ८४६  पटक हेरिएको

नवलपरासी, पुस २२

जिल्ला प्रहरी कार्यालय नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेकोे औषधि सहित मानिस नियन्त्रणमा लिएको जनाएको छ । भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ६ पेटी औषधि बरामद गरेको हो । औषधिसँगै दुईजनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका– ५ टारी बस्ने २९ वर्षीय अभिषेक खरेल रहेका छन ।

प्रदेश नं ३,०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिनु भएको छ । बरामद भएका औषधिमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोग लगायत सर्जिकलसम्बन्धीका औषधिहरु रहेको बोहराले बताउनु भएको छ ।
पक्राउ परेका औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : १५:२१:२७ , ११ महिना अगाडि