पार्टीमा लगानी गरेका कार्यकर्ताहरुको मुल्यांकन नभएको भन्दै लोसपा लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको बिरोध

रुपन्देही खबर , २६२  पटक हेरिएको

भैरहवा, पुस १५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य महेन्द्र गुप्ता प्रशान्तले बिरोध जनाउनु भएको छ । शनिबार भैरहवामा पार्टीको प्रदेश अधिवेशनमा वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाह बोल्दा बोल्दै मञ्चमा बस्नु भएको गुप्ताले एकाएक उभिएर आफूले लगाएको खादा मुखमा बाँधेर बिरोध जनाउनु भएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, नेताहरु सन्दिप त्रिपाठी, गणेश पाल लगायतले गुप्तालाई बस्न आग्रह गर्नु भएको थियो । पार्टीमा लगानी गरेका कार्यकर्ताहरुको मुल्यांकन नभएको र तानाशाही प्रवृत्ति हावी भएको भन्दै गुप्ताले बिरोध जनाएको बताउनु भएको छ । गुप्ताले ‘लोसपामा लोकतन्त्रको माग गर्दैै उभिएर विरोध गर्नु अराजकता नभएको बताउनु भएको छ । उहाले जिम्मेवार पदमा बसेका व्यक्तिहरुले पार्टीमा सरसल्लाहा नगरी एकलौटी ढंगबाट अघि बढेको आरोप लगाउनु भयो ।

उहाले आफू २०६३ सालदेखि नै मधेशका लागि लडिरहेको भन्दै पार्टीले कारवाही गरे पनि आफू नडराउने बताउनु भएको छ । प्रदेश सम्मेलन पनि एकलौटी रुपमा गरिएको उहाको आरोप छ । लोकतन्त्रमा विरोध गर्न पाउनुपर्ने बताउँदै उनी नबसेपछि केहीबेर कार्यक्रममा तनाव उत्पन्न भएको थियो । त्यसपछि मञ्चमा प्रहरी र कार्यकर्ताहरु पुगेका थिए । त्यसै क्रममा गुप्ता र केही नेता–कार्यकर्ताबीच चर्काचर्की समेत भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-३१ , समय : ११:५५:२८ , ११ महिना अगाडि