अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या: व्यवसायी

रुपन्देही खबर , २४२  पटक हेरिएको

भैरहवा,पुस ७

अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण व्यवसायीलाई मात्र नभएर राजस्वमा समेत असर परेको बताएका छ्न ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले अवैध मदिरालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छ्न ।

शुक्रबार भैरहवामा भएको कार्यक्रममा बोल्दै मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले व्यवसायलाई व्यवस्थित गर्न संघले अग्रणी भूमिका निर्वाह गरेको बताउनु भएको छ । उहाले संस्थाले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिएको बताउनु भएको छ । उहाले वार्षिक कार्ययोजना तय गरेर संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भएको छ । अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले मदिरा व्यवसायी संघ भैरहवाले रचनात्मक कार्य गर्दै आएको बताउनु भएको छ ।

मदिरा व्यवसायी संघ पाल्पाका अध्यक्ष अवैध रुपमा आयात हुने मदिरामा रोक लगाउनुपर्ने बताउनु भएको छ ।

मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले धेरै रचनात्मक कार्य गरेर संघ नमूना संस्था बन्न सफल भएको बताउनु भएको छ ।

सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले मदिरा व्यवसायी संघ र होटल एशोसियशनबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउनु भएको छ । उहाले अवैध रुपमा मदिरा भित्रिदा व्यवसायी मर्कामा परेको बताउनु भयो ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले नयाँ नेतृत्वले अझ सक्रियतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नु भयो ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले स्थापनाको छोटो अवधिमै मदिरा व्यवसायी संघ भैरहवाले धेरै काम गर्न सफल भएको बताउनु भएको छ ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले मदिरा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्नेमा जोड दिनु भएको छ ।

चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले संगठित भएर अघि बढे समस्या समाधान गर्न सहज भएको बताउनु भयो ।

मदिरा व्यवसायी संघ, भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले धेरै राम्रो काम गर्दै आएको संघले आफूलाई अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताउनु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अवैध रुपमा उत्पादन हुने मदिराले वैध रुपमा व्यवसाय सञ्चालन गरेका व्यवसायी मर्कामा परेको बताउनु भयो ।

नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले अवैध रुपम विदेशी मदिरा भित्रिदा व्यवसायीलाई मात्र नभइ राज्यलाई पनि घाटा हुने बताउनु भएको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले अवैध रुपमा मदिरा विक्रीवितरण गर्नेलाई कानूनको दायरामा ल्याउने कार्यमा कार्यालयलाई मदिरा व्यवसायी संघ, भैरहवाले सहयोग गरेको बताउनु भएको छ । उहसले नक्कली मदिरा उत्पादकलाई कारवाही गर्न सफल भएको बताउनु भयो । उहाले नयाँ नेतृत्वले अझ बढी सक्रियताका साथ गैरकानूनी कार्यलाई रोक्न आवश्यक सहकार्य गर्ने विश्वास लिएको बताउनु भयो । उहाले सूचना दिएर सहयोग गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले अध्यक्षको प्रतिवेदन, महासचिव केशव कुँवरले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष यादव पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संघका अध्यक्ष ज्ञवालीको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईको विशिष्ट आतिथ्यता, मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पत्रकार गुप्ता सम्मानित

मदिरा व्यवसायी संघ भैरहवाले आफ्नो तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा पत्रकार रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरेको छ । संघले पत्रकार गुप्तालाई नगद रु. ११ हजारसहित सम्मान–पत्र र दोसल्लाबाट सम्मान गरेको हो । संघको गतिविधिहरुलाई समाचारको माध्यमबाट सम्प्रेषण गरी संस्थालाई अगाडि बढाउन योगदान पुर्याएको भन्दै उहालाई सम्मान गरिएको संघले जनाएको छ । विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुप्ता गौतमबुद्ध सन्देश दैनिक, खबरपात्रो डट कम, बुद्ध सामुदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनमा आबद्ध छन् । त्यस्तै संघको कार्यालय सञ्चालनका लागि निःशुल्क रुपमा कोठा उपलब्ध गराएको भन्दै मदिरा व्यवसायी संघ भैरहवाका कार्यसमिति सदस्य तेज बहादुर खत्रीलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२३-१२-२३ , समय : १९:३८:०८ , ११ महिना अगाडि