रुपन्देही खबर , ३४८ पटक हेरिएको
भैरहवा, पुस २
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । भैरहवास्थित भीम अस्पतालमा आयोजित कार्यक्रममा ३० युनिट रगत संकलन भएको संघका उपाध्यक्ष भागिरथ पाण्डेले बताउनु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले आगामी दिनमा पनि मदिरा व्यवसायी संघले गर्ने कार्यक्रममा अस्पतालको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाले रक्तदान महादान भएको र यस्तो कार्यक्रम आयोजना गर्ने मदिरा व्यवसायी संघ भैरहवालाई धन्यवाद दिनु भएको छ । उहाले भन्नु भयो , ‘रक्तदान एकदमै राम्रो काम हो । रगतको विकल्प रगत नै हो । यसले मानिसको ज्यान बचाउँछ ।‘
मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले वार्षिक कार्ययोजना अनुसार संघले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भएको छ । उहाले गत वर्ष संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको स्मरण गर्नु भयो । उहसले भन्नु भयो ‘संस्थाको स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएका छौं, वार्षिक रुपमा संस्थाले करिब २५ वटा कार्यक्रम गर्दै आएको छ, जसमध्ये रक्तदान कार्यक्रम पनि एउटा हो ।’
संघका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख आतिथ्यता, संघका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक विनोद आचार्यको स्वागत, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन पुस ६ गते हुने भएको छ । संघको कार्यसमितिको बैठकको निर्णय बमोजिम पुस ६ गते शुक्रबार दिउँसो १ बजेदेखि भैरहवास्थित होटल सनस्टारमा साधारणसभा सुरु हुने अध्यक्ष केशवराज ज्ञवालीले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-१२-१८ , समय : १७:५४:३६ , ११ महिना अगाडि