रुपन्देही खबर , ३४७ पटक हेरिएको
मर्चवार ,मंसिर २३
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई रु. २५ हजार नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले स्थापना गरेको ‘एसईई उत्कृष्ट जिपिए पुरस्कार’ अन्तर्गत एसईई परीक्षा २०७९ मा सहभागी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुका उत्कृष्ट जिपिए ल्याउने एकजना छात्र र एकजना छात्रालाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सम्मान गर्नु भएको हो ।
परीक्षामा सहभागी छात्रहरु मध्ये कोटहीमाई ५ स्थित श्री मर्चवार आदर्श माध्यमिक विद्यालयका छात्र राजेश कुमार लोधले ३.२० जिपीए र छात्राहरु मध्ये कोटहीमाई ३ स्थित श्री मर्यादपुर माध्यमिक विद्यालयका की छात्रा सुमन यादवले ३.१० जिपिए ल्याई उत्कृष्ट जिपिए पुरस्कार हासिल गरेको कोटहीमाई गाउँपालिका शिक्षा शाखका प्र.स. मनोहर चौधरीले जानकारी दिनु भएको छ। उत्कृष्ट दुबै विद्यार्थीहरुलाई गाउँपालिकाले सम्मान स्वरुप २५–२५ हजार नगद तथा प्रशंसा पत्र दिएर सम्मान गरेको उहाले बताउनु भएको छ । उत्कृष्ट जिपिए ल्याएका छात्र तर्फ मर्चवार आदर्श माध्यमिक विद्यालय तथा छात्रा तर्फ श्री मर्यादपुर माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले युवा पढे मात्र समृद्ध गाउँपालिकाको अनुभुति हुने बताउनु भएको छ । अहिलेको पिढिले राम्रो शिक्षा हासिल गर्न सके विभिन्न ब्यवसाय संचालन गर्ने, समाजका बिक्रितीहरु हटाउनमा सहयोग गर्ने, सार्बजनिक सम्पत्तीको संरक्षण साथै भ्रष्टाचार बिरुद्ध आवाज समेत उठाउने उहाले बताउनु भएको हो ।
गाउँपालिकाले लागु गरेको छात्राहरुलाई साइकल वितरण कार्यक्रमले विद्यालयहरुमा छात्राहरुको संख्या बढन थालेको उहाले बताउनु भएको छ । निजि विद्यालय भन्दा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता न्युन पाइएकोले छात्राहरुको प्रोत्साहनको लागि साइकल वितरण, समग्र विद्यार्थीहरुको प्रोत्साहनका लागि उत्कृष्ट जिपिए पुरस्कार लगायत विभिन्न योजना लागु गरेको अध्यक्ष त्रिपाठीले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-१२-०९ , समय : १७:५०:१६ , १२ महिना अगाडि