कञ्चनमा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका सम्मानित

रुपन्देही खबर , २०३  पटक हेरिएको

कञ्चन, मंसिर २०

रुपन्देहीको कञ्चन गाउँपालिकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेका ५ जना सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई २० औं महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवस २०८० को अवसरमा एक कार्यक्रम गरी सम्मान गरेको छ। ूस्वास्थ क्षेत्रमा दिगो बिकास, महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको सयुक्त प्रयासू भन्ने मुल नारा सहित आज रुपन्देहीको कञ्चन गाउपालिकाकाले ६० बर्ष उमेर पुरा भई अनिवार्य अवकास भएका दुई जना सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई समेत जनही ५० हजार रुपैया सहित सम्मान गरी बिदाई गरेको छ ।

सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाको राज्यले ब्यबस्था नगरेको भएक देशको स्वास्थ्य अवस्था कस्तो अवस्था हुन्थ्यो भन्ने कल्पना गर्न नसकिने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुकै निस्वार्थ र निरन्तर सेवा भावका कारण आज पोलियो रोग, हात्तीपाइले, क्षयरोग, लगायत बिषय रोगहरुबाट देशलाई सुरक्षित बनाउन सम्भव भएको बताउनु भयो।

यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुले घरको काम देखि लिएर परको काम समेतको जिम्मेवारीलाई इमान्दारितापुर्वक कार्यान्वयन गर्ने भएकै कारण आज देशको स्वास्थ्य स्थितिलाई राम्रो बनाउन सम्भव भएको उल्लेख गर्नु भयो। कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले निस्वार्थ रुपमा समुदायलाई स्वस्थ राख्न, गर्भवती तथा सुत्केरी आमा र शिसुलाई स्वस्थ बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुले सञ्चालन गर्ने घर दैलो अभियान र स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको महत्वपुर्ण भुमिका रहेको समेत उल्लेख गर्नु भयो।

यसैगरी कार्यक्रममा वडा नंम्बर ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको मेहनत र जिम्मेवारी पुर्वक खटिए अनुसारको राज्यले सेवा सुविधा दिन नसकेकोमा दुःख ब्यक्त गर्नु भयो। राज्यले सम्बोधन गर्न नसकेपनि नजिकको सरकारको रुपमा रहेको पालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको काम अनुसार पालिकाको क्षमता अनुसार आवस्यक सेवा तथा सुविधाको बन्दोबस्त गर्नु पर्ने समेत वडा अध्यक्ष खत्रीले जोड दिनु भयो।

कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुबिच १०० मिटर दौड, कुर्ची दौड र हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको गजेडी स्वास्थ्य चौकीका इन्चार्ज गिताराम रिजालले जानकारी दिनु भएको छ । १०० मिटर दौड प्रतियोगितामा कविता गिरी प्रथम, कामना गुरुङ्ग द्वितिय र पवित्रा काफ्ले तेश्रो भएका थिए। यसैगरी कुर्ची दौड प्रतियोगितामा राधा अस्लामी प्रथम, कामना गुरुङ्ग द्वितिय र कविता गिरी तेश्रो भएका थिए।
यस्तै आज नै सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुबिच भएको हाजिरी जवाफ प्रतियोगितामा वडा नंम्बर १ पहिलो, वडा नं ४ दोश्रो र वडा नं ३ तेश्रो भएको गजेडी स्वास्थ्यचौकीका इन्चार्ज गिताराम रिजालले जानकारी दिनु भएको छ।

कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको तर्फबाट निरमाया बोहरा र अम्बिका आचार्यले जिवनभर सामुदायिक स्वास्थ्य सेवामा समर्पित भएका महिला स्वास्थ्य स्वयम सेविकाहरुको कामलाई राज्यले देख्न नसकेपनि हाम्रो नजिकको सरकार भनेको गाउपालिका भएकोले समयानुकुल सेवा सुविधाको ब्यबस्था गर्नु पर्ने माग गर्नु भएको थियो । जव हामी शारिरीक र मनासिक रुपले समेत कार्य गर्न नसक्ने भएपछि राज्यले दिएको जिम्मेवारीबाट बिदाई गर्नु पर्ने हुन्छ त्यतिबेला हामी खाली हात घर फर्किनुपर्दा घर परिवारबाट समेत हामी अपहेलित बन्नु पर्ने अवस्था आउन नदिन पालिकाले राज्यसमक्ष सेवा अवधीको मुल्यांकन गरेर उपदानको ब्यवस्थाका लागि देशभरका सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको समस्या पुर्याईदिन समेत उहाँहरुले आग्रह गर्नु भयो ।

सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका संघ कञ्चनका अध्यक्ष पवित्रा आचार्यको अध्यक्षता तथा गजेडी स्वास्थ्यचौकीका इन्चार्ज गिताराम रिजालको स्वागतमा भएको कार्यक्रममा ६० बर्ष उमेर पुरा भई अनिवार्य अवकास हुनु भएका योगमाया पुन र कल्पना सुवेदीलाई सम्मान सहित बिदाई गरिएको छ। यस्तै सामुदायिक स्वास्थ्य सेवामा निरन्तर कार्य गर्दै आउनु भएका सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरु लक्ष्मी पौडेल, वविता राजकोटी, ललिता पुन, दौपती चौधरी र कामना गुरुङ्गलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कञ्चन गाउँपालिकाको सभाहल दियोमा भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य सहायक गणेश सुनारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

प्रकाशित मिति: २०२३-१२-०६ , समय : १०:१०:२१ , १२ महिना अगाडि