सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा रोहिणी गाउँपालिकाले लगायो डोजर

रुपन्देही खबर , ३३०  पटक हेरिएको

भैरहवा, मंसिर १६

रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा डोजर लगाएको छ । शनिबार बिहान कवाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा डोजर लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ ।रोहिणी गाउँपालिका–२ मैनिहवास्थित ए।एस।पी। स्क्रेप सप्लायर्स नामक कवाडी संकलन गर्ने व्यवसाय गाउँपालिका कार्यालयमा दर्ता नगरी सञ्चालन रहेको, सो व्यवसायप्रति जनमानसको गुनासो रहेको र सीमा क्षेत्रमा सञ्चालित व्यवसायमा अवैध गतिविधि हुन सक्ने भएकोले व्यवसाय सञ्चालनमा रोक लगाइएको अध्यक्ष यादवले जानकारी दिनु भएको छ ।
पटकपटक व्यवसाय सञ्चालन नगर्न जानकारी गराउँदा पनि वेवास्ता गरेपछि गोदामको मुख्य गेट तथा पर्खाल भत्काइएको उहाले बताउनु भएको छ। उहाले भन्नु भयो , ‘सीमा क्षेत्रमा रहेको कवाडको गोदामका कारण अवैध गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गर्दै गोदाम हटाइएको छ ।’

रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले दर्ताबिना सञ्चालन भइरहेको कवाड संकलन गर्ने गोदामबाट अवैध गतिविधि भइरहेको भन्ने जनताको गुनासो आएकोले गोदामको संरचना भत्काइएको बताउनु भयो । उहाले आगामी दिनमा सीमा क्षेत्रमा कुनै पनि अवैध गतिविधि हुन नदिने गरी अघि बढ्ने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १२:३३:४० , १२ महिना अगाडि