हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

रुपन्देही खबर , २१८  पटक हेरिएको

कंचन, मंसिर १०

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं। ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार सडक नाटक प्रदर्शन गरिएको हो ।

कलाकारहरुले आफ्नै घरमा पनि महिला हिंसा गर्न नपाईने र गरेमा कारवाहीमात्र होइन समाजमै बदनाम हुने अवस्था आउने लगायतका बिषयमा समुदायलाई सचेत बनाउने गरि सडक नाटक प्रदर्शन गरेका थिए ।
त्यसैगरी विद्यार्थीले लागू औषध सेवन गर्दाको परिणाम, बालविवाह गर्दा हुने दिर्घकालीन स्वास्थ्य असर, बहुबिबाह गर्दा कानुनी दण्डको ब्यवस्था र जरिवाना लगायतका बिषयमा मूख्य कलाकार शूरबीर पण्डित लगायतका कलाकारले नाटकमार्फत सन्देश दिएका छन । सडक नाटककै अवसरमा मन्तब्य ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समय परिस्थति अनुसार हामीले गर्न हुने र नहुने बिषयमा सडक नाटकमार्फत सिकेको बताउँदै सडक नाटकबाट पाएको शिक्षा घर ब्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो । उहाँले सवै प्रकारका हिंसाबाट कञ्चन गाउँपालिकालाई मुक्त गर्ने अभियानमा कञ्चनमा बसोबास गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र नागरिक सवैको साझा दायित्व भएको सम्झाउनु भयो ।

‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको हो । त्यस अवसरमा कञ्चन गाउँपालिकामा विभिन्न सडक नाटक प्रदर्शन भएको हो । कार्यक्रममा उपाध्यक्ष मौसमि थापा मगर ,प्रमुख प्रशासकिय अधिकृत सागर गौतम लगायतले बोल्नुुभएको थियो ।

प्रकाशित मिति: २०२३-११-२६ , समय : २१:१९:३४ , ११ महिना अगाडि