रुपन्देही खबर , २५६ पटक हेरिएको
भैरहवा, मंसिर १०
‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ । अभियानकै क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा समेत शनिवारदेखि हिंसाविरुद्धको अभियान सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाले शनिबार भैरहवामा आयोजना गरेको महिला, जनप्रतिनिधी, संघ संस्थाका प्रतिनिधी र शाखा प्रमुखहरुलाई महिला बिरुद्ध हुने सबै प्रकारका उन्मुलन महासन्धी कार्यान्वय सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले लैंगिक हिंसाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । उहाले ‘लैगिक हिंसा अन्त्य गर्नका लागी आफु र समाजबाट नै सुरुवात गर्नुपर्ने बताउदै टीमवर्क आवश्यक रहेको बताउनु भएको छ ।
उपप्रमुख अधिकारीले लैंगिक हिंसाको अन्त्य ‘एक्लो व्यक्तिको प्रयासले मात्र नहुने बताउदै सबै जना एकजुट भएर लाग्नुपर्ने बताउदै यस बिषयमा थप प्रयास गर्न अनुरोध गर्नु भयो । उहाले शिक्षामा समेत विभेद हुने गरेको बताउदै कतिपय ठाउँमा छोरीहरुलाई पढाएर किन खर्च गर्ने भन्ने पनि सोच रहेको उहाको भनाइ छ ।उपप्रमुख अधिकारीले न्यायीक समितिले आफ्नो दायरामा रहेर काम गरिरहेको बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाको न्यायिक समिति जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको र न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी. तथा अधिवक्ता रीता खनालले लैंगिक हिंसाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सिद्धार्थनगर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीको सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-११-२६ , समय : ११:०४:०७ , १ वर्ष अगाडि