रुपन्देही खबर , ४२७ पटक हेरिएको
भैरहवा, मंसिर ८
आन्तरिक राजस्व कार्यालय भैरहवा तथा सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा राष्ट्रिय कर दिवस २०८० को अवसरमा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यतामा बुधबार भैरहवामा अन्तरक्रिया गरीएको हो ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले आर्थिक मन्दीको असर विश्वव्यापी रुपमा परेको र त्यसको असरले नेपाललाई पनि प्रभावित पारेकोले आर्थिक संकटबाट मुलुकलाई पार लगाउन व्यवसायीले सक्दो सहयोग गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।
अहिलेको कर नीति स्वयम् कर निर्धारण प्रणालीमा आधारित भएकाले आफ्नो वास्तविक कारोवार अनुरुपको कर स्वयम् घोषणा गरेर देखाएमा कुनै समस्या नपर्ने अन्यथा भोलि अनुसन्धानबाट बास्तविक कारोवार अनुरुप कर नतिरेको देखिएमा कारवाहीको भागेदार बन्नुपर्ने उहाले बताउनु भएको छ ।
करदाताले घरमैं बसेर कम्प्युटर वा मोवाइलबाटै आफूले तिर्नुपर्ने कर तिर्न सकिने भएकाले कर तिर्नका लागि कुनै पनि बिचौलियाको प्रयोग नगर्न र बिना दर्ता कुनै पनि कारोवार नगर्न उहाले आग्रह गर्नु भएको छ । बिलबिजक बिना कुनै पनि कारोवार नगर्न उहाले बिशेष आग्रह गर्नु भएको छ । ‘बिना बिल बिजकको तस्करीका सामान व्यवसायीले खरिद नगर्ने हो भने चोरी तस्करी स्वतः निरुत्साहित हुने भएकोले ‘कर छली गरेको वारेमा जानकारी दिए आवश्यक कारवाही गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ।
यस्तै गरी संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आर्थिक मन्दीका कारण अधिकांश व्यवसायी बिदेश पलायन हुन खोजेकाले अहिलेको अवस्थामा सुटकेशझोला बिक्री गर्ने एकमात्र व्यवसाय चलेको बताउनु भएको छ । ‘यस्तो बिषम परिस्थितिमा सरकारले व्यवसायीको संरक्षण गर्नु पर्ने बताउदै ‘व्यवसायी रहेमा नै सरकारले कर असुली गर्ने बताउनु भएको छ ।
यस्तै गरी सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपानेले अहिलेको आर्थिक मन्दीका कारण कर तिर्न चाहेर पनि तिर्न नसक्ने अवस्थामा रहेको बताउनु भएको छ । ‘बिसौं बर्षदेखि संचालन गर्दै आएको उद्योग चल्न छाडेपछि व्यवसायी मेसिन कवाडीमा बिक्री गरेर बिदेश जाने तयारीमा छन’, यस्तो अप्ठेरो परिस्थितिमा सरकारको पहिलो दायित्व व्यवसायीको संरक्षण गर्नु हो । व्यवसायीको आज संरक्षण गरेपछि कर भोलि असुली गर्ने मनस्थितिमा सरकार जाओस् ।’ न्यौपानेले भन्नु भयो, ‘
अन्तक्र्रिया कार्यक्रममा सहभागी अन्य व्यवसायीले पनि न्यौपानेले उठाएका जस्तै व्यवसायीका समस्याका वारेमा कुरा उठाएका थिए । आर्थिक मन्दीका कारण उद्योग व्यवसाय राम्ररी नचल्दा व्यवसायीबाट असुली गरिने करमा सरकारले बिशेष सहुलियत दिनुपर्ने धारणा नीजि क्षेत्रका व्यवसायीले गरेका थिए तर सरकारी पक्षले भने आर्थिक मन्दीको असरले राष्ट्र नै समस्यामा पर्न थालेकाले व्यवसायीले जतिसक्दो धेरै सहयोग गर्नुपर्ने बेला भएकाले कर जम्मा गर्न विलम्ब नगर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२३-११-२४ , समय : ०७:०७:२१ , १२ महिना अगाडि