उर्मिला यादव यात्री , ३६२ पटक हेरिएको
भैरहवा, मंसिर ५
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने मूल नाराका साथ भैरहवामा बुधबार बाट सुरु हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को तयारी पुरा भएको छ । उद्योग, व्यापार संगठन रुपन्देहीले आयोजना गरेको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव २०८० मंसिर ६ गते देखि मंसिर १८ गतेसम्म सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताउनु भएको छ । उहाले मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालबाट हुने जानकारी गराउदै मेलामा उद्घाटन भएर पनि हालसम्म नियमित सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार नै हवाइजहाजको आकृतिमा निर्माण भएको समेत जानकारी दिनु भएको छ । उहाले मेला उदघाटनअघि बुधबार बिहान सात बजेदेखी भैरहवाको देवकोटा चोकदेखि जनचेतनामुलक ¥याली निकालिनुका साथै बिभिन्न संघ संस्थाल तथा समुदायका पहिचान झल्किने गरी झाकी समेत प्रर्दशन गरिने बताउनु भयो ।
एहाले अनुगमन समिति गठन गरेर मेलामा राखिने स्टलको गुणस्तरप्रति सचेत गराइने समेत बताउनु भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी गराउदै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने समेत जानकारी दिनु भएको छ ।महोत्सवमा कुस्ती, भलिबल लगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिने श्रेष्ठको भनाइ छ ।
महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीहरुलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको उहाको भनाइ छ । त्यस्तै परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताउनु भएको छ । महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको उहाले बताउनु भयो ।
महोत्सवमा औद्योगिक, पर्यटन, कृषि विविधिकरण युक्त व्यापारीकरणका पसलहरु राख्ने मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिनुभयो ।
यो महोत्सवमा पर्यटकीय स्थलको फोटोे प्रर्दशनी पुरातात्विक वस्तुहरुकोे परिचय कृषि उत्पादन तथा कृषि उपज बाट निर्मित खानाको परिकारहरु विक्री वितरण गरिने संयोजक श्रेष्ठले बताउनु भएको छ ।
उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक अनिल कुमार ज्ञवालीले उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनु भएको छ ।
उहाले महिला हस्तकला, जडीबुटी मेशीनरी, आइटी अटोमोबाइल्सका सामानहरु प्रर्दशनीमा राख्ने लगायत महोत्सवमा बाल बच्चाहरुको लागि बाल उद्यानको नौलो प्रस्तुती, स्थानीय तथा राष्ट्रिय कला लोक, विरहा समेतको जर्गेना गर्ने र सुविधा सम्पन्न पसलहरुको व्यवस्था गरिएको बताउनु भएको छ । महोत्सव अवधिमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था, इन्टरनेटको सुविधा, सि।सि।टि।भी।को पर्याप्त सुरक्षा व्यवस्था, पार्किङ्ग व्यवस्था गरिएको पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।
संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले बेलहिया नाकादेखि मेलास्थलसम्म आउन यातायातको व्यवस्था गरिएको बताउनु भएको छ । उहाले ‘महोत्सवमा दर्शकहरुलाई स्वागत गर्न तयार रहेको र भारतीय विद्यार्थीहरुलाई पनि परिचयपत्रका आधारमा मेलामा प्रवेशका लागि छुट प्रदान गरिने जानकारी दिनु भयो । ’
कार्यक्रममा संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले विदेशमा राखिने यस्ता महोत्सवमा सहभागीहरुलाई सरकारबाट नै भत्ताको व्यवस्था गरिने भए पनि नेपालमा भने कुनै सहयोग नआउने गरेको दुख ब्यक्त गर्नु भएको छ । महोत्सवमा शनिबार र सार्वजनिक विदाबाहेक बिहान ९ देखि ११ बजेसम्म निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको उहाले बताउनु भयो । महोत्सवमा राष्ट्रिय, स्थानीय साथै चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, उमेश पटेल लगायत कलाकारहरुको प्रस्तुति रहनेछ ।
कार्यक्रममा संगठनका महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकहरुले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको लक्ष्य रहेको बताउनु भएको छ । उहाले करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टलहरु सहभागी हुने बताउनु भयो ।
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद् लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई, सम्मरीमाई गाउँपालिका, सह–प्रायोजकमा एस.आर.स्टील प्रा.लि., रिया एण्ड रक्षा फुड्स प्रा.लि., माया तेल, टिकट प्रायोजकमा एन.जी. मार्केट मणिग्राम रुपन्देही, नेट पार्टनरमा डिस होम, आधिकारिक बैंकमा प्रभु बैंक लिमिटेड, पर्यटन पार्टनरमा बोधी रेडसन र मुख्य गेट प्रायोजकमा एभरेष्ट कत्था मिल रहेको महोत्सवका प्रचार प्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-११-२२ , समय : ०१:१४:०८ , १ वर्ष अगाडि