पाल्पाको भुतखोला र तिनाउ ड्याममा डुबेर दुई जनाको मृत्युु

रुपन्देही खबर , ४२६  पटक हेरिएको

बुटवल,कार्तिक २१

पाल्पाको तिनाउ गाउंपालिका दोभान क्षेत्रमा पर्ने भुतखोला र तिनाउ ड्याममा डुबेर दुई जनाको ज्यान गएको छ । तिनाउ ड्याममा भारतीय युवतीको र भुतखोलामा भैरहवाका युवकको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका वडा नं ३ भुतखोलामा डुुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ९ का विमल आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठका अनुसार भुतखोलामा रहेको पर्यटकीय स्थल गहिरो दह मा डुबेका आचार्यको उपचारको लागि अस्पताल पु¥याएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

आचार्यसंगै घुम्न आएकी युना दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भुतखोलामा घुम्न जाने मध्ये कतिपयको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ । यहां रहेको गहिरो दहमा डुबेकाहरुको ज्यान जाने गरेको छ । भारत उत्तर प्रदेश महगरकाजिपपुरकी २० वर्षीया शाहिस्ता प्रविणको तिनाउ जल विद्युतको ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

फोटो खिच्ने क्रममा ड्याममा खसेकी प्रविणको प्रहरीले उद्धार गरि अस्पताल पु¥याउंदा चिकित्सकले मृत घोषणा गरेका पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताउनु भएको छ ।

मृतकको शवलाई लुमिबनी अस्पतालमा राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक प्रविण शिक्षकहरु सहित २०–२५ जनाको टोलीमा भारतबाट घुम्न आएकी थिइन् । भुतखोला र तिनाउ ड्याममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेपनि स्थानीय र प्रदेश सरकारले दुर्घटना रोक्न पहल गरेको देखिंदैन ।

प्रकाशित मिति: २०२३-११-०७ , समय : २०:४५:५७ , १ वर्ष अगाडि