तेक्वान्दो च्याम्पीयनसीपमा स्वर्ण पदक जित्ने रफीकलाई सम्मान

रुपन्देही खबर , ३१२  पटक हेरिएको

भैरहवा, कार्तिक १२

बंगलादेशमा अक्टोबर १९ देखि २१ तारिखसम्म सम्पन्न ‘प्रथम बंगाबन्धु खुल्ला इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसीप–२०२३’ मा स्वर्ण पदकसहित उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल २४ वर्षिय मोहम्मद रफीकलाई आइतबार भैरहवामा सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिका–३ दरखसवा निवासी भैरहवा तेक्वान्दो क्लबका खेलाडी रफीकलाई दरखसवा युवा क्लबले सम्मान गरेको हो । उनी सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)ले नेपालका खेलाडीले देशलाई विश्वमै चिनाउन सफल भएको बताउनु भएको छ । उहाले नेपाललाई विश्वमै चिनाउने काम गर्ने खेलाडीलाई लुम्बिनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ । मन्त्री गुप्ताले प्रदेश सरकार खेलाडीको साथमा रहेको बताउदै मन्त्रीपरिषद गठन हुँदा क्रिकेट खेलाडीको सम्मानका लागि रकम छुट्याइएको बताउनु भएको थियो ।

प्रदेश सरकारले खेलकुद क्षेत्रलाई बढी भन्दा बढी जोड दिएको उहाको भनाइ छ । मन्त्री गुप्ताले नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर सम्पूर्ण नेपालीको मन जित्न सफल भएको बताउनु भयो । उहाले खेलाडीलाई आवश्यक सुविधा उपलब्ध गराउन सके खेलाडीको मनोबल बढ्ने बताउनु भएको छ।

त्यस्तै संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले दरखसवाले राम्रो खेलाडी जन्माएको बताउनु भएको छ । उहाले खेलाडी मोहम्मद रफीकसहित नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका कारण नेपाललाई विश्वले चिनेको बताउनु भयो । नगरप्रमुख खानले मानिसको शारीरिक, मानसिक विकासका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भैरहवा खेलाडी उत्पादन गर्ने ठाउँ भएको बताउदै सिद्धार्थनगर नगरपालिकाको टीम खेलमैत्री भएको जोड दिनु भयो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे. क्वा, रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपक थापा, बधाई, शुभकामना तथा सम्मान कार्यक्रम संयोजक मनोज प्रजापति (महाकाल), भैरहवा तेक्वान्दो क्लबका सचिव प्रकाशमान राजभण्डारी, दरखसवा युवा क्लबका अध्यक्ष मनिष गुप्ता लगायतले बोल्दै खेलाडीलाई अघि बढाउन सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

दरखसवा युवा क्लबका अध्यक्ष मनिष गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) को प्रमुख आतिथ्यता तथा विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रकाशित मिति: २०२३-१०-२९ , समय : १४:०९:५५ , १२ महिना अगाडि