उर्मिला यादव यात्री , ४२७ पटक हेरिएको
भैरहवा, कार्तिक ११
श्री नवदुर्गा मन्दिर समिती सिद्धार्थनगर ७ को आयोजनामा भैरहवामा पन्चेबाजा सहित सराय नाच सम्पन्न भएको छ । श्री नवदुर्गा मन्दिर समिती सिद्धार्थनगर ७ को आयोजना तथा श्री सगरमाथा टोल सुधार समिती सिनपा ७, श्री तीनकुने टोल सुधार समिती सिनपा ९, श्री नया कोलोनी टोलसुधार समिती सिनपा ९ र श्री देउसी भैलो समुह सिनपा ७ को सहयोगमा सराय नाच तथा फुलपाती बिर्सजन गरीएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको दुर्गा मन्दिरदेखि निकालिएको सराय नाच देउराली पथ, डाडा गाउ , तीनकुने चोक हुदै भैरहवाको बिभिन्न ठाउमा परिक्रमा गर्दै पन्चेबाजा सहित नाच्दै गाउदै मनाइएको छ ।
शत्रुलाई पराजित गरेपछि विजयउत्सवको रुपमा परापुर्वकालदेखि नै अर्घाखाँची, गुल्मी, स्याङजा, पाल्पा, प्युठान बाग्लुङ लगायतका ठाउमा वडादशैंको एकादशीदेखि पूर्णिमासम्म देवीका मन्दिर शक्ति पीठमा तथा विभिन्न कोट दुर्गा मन्दिरहरुमा खेलिने सरायँ नाच बसाइसराईसँगै तराईको रुपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लामा पनि मनाउदै आइएको छ । गुल्मी, अर्घाखाँची र पाल्पामा सदियौंदेखि दशैंमा नाचिने सरायँ नाच निकै उत्कृष्ट नाच मानिन्छ ।
हिन्दूहरुको महान पर्व वडादशैं अन्तर्गत विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म सराय नाच अर्घाखाँचीको अर्घा भगवती मन्दिरसहितका मन्दिरबाट नाच्न सुरुवात भएको प्रा.डा. गितु गिरीले बताउनु भएको छ । तरबार खुडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने चलनअनुसार नै सरायँ नाच नचाएको श्री नवदुर्गा मन्दिर समिती सिद्धार्थनगर ७ का अध्यक्ष मिना शर्मा घिमिरेले बताउनु भएको छ । तरबार खुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले बताउनु भयो । देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुशीयालीमा नाच्न थालिएको उहाको भनाइ छ ।
सरायँ नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ । गुल्मी, अर्घाखाँची, पाल्पाबाट अत्याधिक मात्रामा बसाइ सरी रुपन्देहीमा आएकोले आफ्नो परम्परा संस्कृति संरक्षण गर्न जरुरी रहेको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनु भएको छ । यस नाचलाई जस्ताको त्यस्तै युवा पुस्तामा सार्न सके मात्रै यसको संरक्षण हुने उपप्रमुख अधिकारीको भनाइ छ ।
सगरमाथा टोल सुधार समिती सिनपा ७ का सचिव खेम लम्सालले बिजया दशमीको अन्तिम दिन अर्थात पुर्णिमाको दिन सराय नाच नाच्ने नचाउने र असत्य माथि सत्यको जीत भएको खुसियालीमा हात हतियार सहितको प्रर्दशन गरी सराय नाच मनाउदै आएको बताउनु भएको छ । यो नाच अर्घाखाचीको अर्गादेवी भगवतीको मन्दिरमा नाच्दै आएको लम्सालको भनाइ छ ।
दुर्गाको पुजा आराधना गरी सराय नाच संगै फुलपाती सेलाइने गरीएको र यो ठाउ अनुसार फरक फरक दिन गरीदै आएको श्री नवदुर्गा मन्दिर समिती सिद्धार्थनगर ७ का सदस्य मदन खत्रीले बताउनु भएको छ ।
संस्कृति परम्पराको जर्गेना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्ने गरिन्छ । यसप्रकारको सरायँ नाच भैरहवामा हेर्न पाएपछि आफुहरु जन्मथलोमा नै भएको महसुस भएको सगरमाथा टोलसुधार समिती सिनपा ७ का सदस्य कमल पोख्रेलले बताउनु भएको छ । सरायँ नाच नाच्न हेर्न सयौ श्रद्धालु भक्तजनहरु सिद्धार्थनगर ७ मा रहेको दुर्गा मन्दिरमा पुगेका थिए ।
प्रकाशित मिति: २०२३-१०-२८ , समय : १९:१९:५५ , १ वर्ष अगाडि