सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा दशैं सस्तो बजार सुरु

रुपन्देही खबर , ४१९  पटक हेरिएको

भैरहवा, असोज २९

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आइतबारदेखि भैरहवामा दशैं सस्तो बजार–२०८० सुरु भएको छ । ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ सुरु भएको सस्तो बजार संघको परिसरमा कार्तिक ३ गते सम्म सञ्चालन हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

दशैं सस्तो बजार–२०८० उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विषम परिस्थितिमा आर्थिक मन्दीकाबीच संघले दशैं सस्तो बजार सञ्चालन गर्नु सराहनीय रहेको बताउदै आर्थिक क्षेत्र चाँडै नै चलायमान हुने विश्वास व्यक्त गर्नु भएको छ ।


मन्त्री पाण्डेयले प्रदेश सरकारले पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, उद्योग, व्यवसाय लगायतका क्षेत्रमा काम गर्ने बताउनु भएको छ । उहाले भगवान गौतमबुद्धको पवित्र भूमि लुम्बिनीलाई पर्यटनको केन्द्र बनाउनु पर्ने बताउदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रदेश सरकार लागिपरेको बताउनु भयो ।

पर्यटन भित्र्याउन राम्रो र सीमा नाकामा सहज वातावरण बनाउनुपर्ने उहाको भनाइ छ । उहाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र स्थानीय संघ–संस्था दुवैको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

यस्तै गरि सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोगप्रति सचेत गराउने तथा आउँदै गरेको नेपालीहरुको महान चाडपर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गर्ने उद्देश्यले बजार सञ्चालन गरिएको बताउनु भएको छ । विभिन्न उद्योग, व्यवसायीहरुसँगको सहकार्यमा उपभोक्तालाई सर्वसुलभ रुपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरु विक्रीवितरण गर्ने, स्थानीय खाद्य पदार्थको प्रवद्र्धन तथा उचित मूल्यबारे जानकारी गराउने पनि बजार सञ्चालनको उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

सस्तो बजारमा विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागीता रहने दशैं बजारमा दैनिक उपभोग्य खाद्यान्न, जुत्ता, चप्पल, घरेलु उत्पादन, खाजा घर, दुईपांग्रे अटोमोबाईल सहितका स्टलहरु रहेको आयोजकले जनाएको छ। बजारमा स्थानीय भैरहवा क्षेत्रबाट करिब १५ हजार उपभोक्ता तथा अवलोकनकर्ता आउने र करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको कारोबर हुने अनुमान गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।

यस्तै गरि
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले उपभोक्ताहरुले विभिन्न स्टलहरुबाट ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गरेको बीलको आधारमा भैरहवास्थित काशी सिनेप्लेक्सबाट एउटा टिकट निःशुल्क व्यवस्था समेत गरिएको बताउनु भयो । उहाका अनुसार दशैं बजारमा उपभोक्ता तथा अवलोकनकर्ताहरुको सुरक्षालाई मध्यनजर गरी सीसीटिभी क्यामेरा जडान गरिएको छ । 

यस्तै गरि संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले दशैं सस्तो बजार अवधिका लागि उत्पादक तथा व्यवसायीसँग सम्पर्क गरेर होलसेल मूल्यमा उत्पादित वस्तु उपलब्ध गराउन लागिएकाले अन्य समयको तुलनामा सामान सस्तो हुने बताउनु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संघका सचिव मंगल भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१०-१६ , समय : १२:४५:४९ , १ वर्ष अगाडि