चाडपर्व सुरक्षाका लागि रुपन्देहीमा एक हजार बढी प्रहरी परिचालन

रुपन्देही खबर , ३४४  पटक हेरिएको

भैरहवा ,असोज २७

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागू गरेको छ। शान्ति, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले जिल्लामा कुनै पनि प्रकारको आपराधिक क्रियाकलाप नहुन दिन र सर्वसाधारणलाई शान्तिपूर्ण रूपमा उल्लासपूर्वक चाडपर्व मनाउनका लागि सुरक्षा योजना लागु गरेको जनाएको छ।


‘सर्वसाधारणले उल्लासपूर्वक चाडपर्व मनाइरहेको अवस्थामा आपराधिक मनोवृति भएका व्यक्तिहरू सल्बलाउन खोज्छन्, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीका एसपी भरत बहादुर विकले सुरक्षा योजना सार्वजनिक गर्दै, ‘त्यसलाई निस्तेज पार्नका लागि जिल्लामा सुरक्षा योजना लागू गरेको बताउनु भएको छ ।उहाले चाडपर्वमा कसैलाई कुनै समस्या परे प्रहरीलाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।

चाडपर्वमा जिल्लामा चोरी, लुटपाट, ठगि, झैझगडा, तस्करी लगायत आपराधिक क्रियाकलाप बढी हुने गरेकोले यसलाई नियन्त्रण गर्नका लागि प्रहरी उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरी जिल्लाभर एक हजार २९ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता मनोहरप्रसाद भट्टले जानकारी दिनु भएको छ ।

उहाका अनुसार सुरक्षा योजनाअन्तर्गत जिल्लाको‍ विभिन्न ४३ स्थानमा पिकेट, २४ घण्टा १८ वटा पैदल गस्ती, ५० वटा मोटरसाइकल गस्ती, १७ वटा क्विक रेस्पोन्स टिम (क्युआरटी)/गाडी मोबाइल, १० वटा सवारी साधनबाट क्रस पेट्रोलिङ र विशेष चेकिङ, एउटा आरएससीसी चेकिङ, १९ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच, १७ स्थानमा एम्बुस, चोरी तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रका सबै युनिटहरू २४ स्थानमा लगायत परिचालन गरिनेछ।

प्रहरीले जिल्लाको बेलहिया, भैरहवा बसपार्क, बुटवल, कालिदह र लुम्बिनीको पर्सा चोकमा नागरिकको सहजताका लागि नागरिक साहयता कक्ष समेत स्थापना गरेको छ। चाडपर्वको बेला कसैलाई कुनै समस्या परे जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कन्ट्रोल रुमको १०० वा ९८५७०९०६२२ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ।

प्रकाशित मिति: २०२३-१०-१४ , समय : ०५:५१:४२ , १ वर्ष अगाडि