सिनपा वडा नम्बर ५ र १३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

उर्मिला यादव यात्री , ४९२  पटक हेरिएको

भैरहवा, असोज ११

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ र १३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको छ । वडा नम्बर ५ र १३ को संयुक्त आयोजनामा कार्यालय परिसरमा बुधबार एक कार्यक्रमका बिच सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गर्नु भएको हो । कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख खानले नगरको अन्य वडामा पनि छिटटै नै आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्दै जाने बताउनु भएको छ । उहाले नगरबासीको स्वास्थ्यमा समस्या आए वडाबाट नै उपचार गराउन सकिने जोड दिनु भयो । उहाले यो स्वास्थ्य केन्द्र वडा नम्बर ५ र १३ को मात्र नभई पायक पर्ने सबैले सेवा लिन सक्ने बताउनु भयो । नगर प्रमुख खानले नगरपालिका जनताको करबाट नै चल्ने भएको हुदा बिस्तारै हरेक वडामा बजेट बिनियोजन गरी आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गर्दै जाने जोड दिनु भयो । उहाले नगरको खाली सटरहरु छिटै संचालनमा ल्याउने प्रतिबद्धता समेत गर्नु भएको छ । नगर प्रमुख खानले नगरमा धेरै समस्या रहेको बताउदै यसको समाधानका लागी नगरवासीले पनि सुझाव सल्लाह दिनुपर्ने बताउनु भयो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले भौतिक बिकासले मात्र नगरको बिकास नहुने हुदा सामाजिक बिकासको पनि उत्तिकै महत्व भएको बताउनु भएको छ । सिद्धार्थनगरले बाटोघाटो लगायत भौतिक क्षेत्रमा धेरै बिकास गरेकोले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको जोड दिनु भयो । उहाले स्थानिय सरकारको निति अनुसार स्थानिय तहले स्वास्थ्य सेवा घरघरमा पुरयाउने लक्ष्य अनुरुप नगरले पनि केहि वडामा काम गर्दै आएको बताउनु भएको छ ।उहाले यो बर्ष जेष्ठनागरिकका लागी घर घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले बजेट समेत बिनियोजन गरेको जानकारी दिदै अव यो कार्यक्रम छिटटै नै सुरु गर्ने जानकारी दिनु भएको छ । उहाले गत बर्ष वडा नम्बर ५ र १३ ले जेष्ठ नागरीकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरी सामान्य खालका औषधीहरु समेत उपलब्ध गराएकोले यसलाई नगरले सिको गर्दै बढाउदै लगेको बताउनु भयो । उहाले बाटोघाटो भन्दा पनि मानवीय बिकासमा ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले अबदेखि सिद्धार्थनगरको ७ वटा वडाबाट स्वास्थ्य सेवा प्रदान हुने जानकारी दिनु भयो ।
अधिकृत पौडयालले वडा नम्बर ५ र १३ स्वास्थ्य सेवाका बिषयमा मात्र नभई अन्य बिषयमा पनि एकदमै क्रियासिल भएर काम गर्दै आएको र यो कुरा अन्य वडाले समेत सिको गर्नुपर्ने बताउनु भयो । उहाले वडा नम्बर ५, १३ लगायत अन्य वडाको मात्र नभई अस्थाई रुपमा बसोबास गर्ने जोसुकैले पनि आधारभुत स्वास्थ्य केन्द्रमा आएर सेवा लिन सक्ने बताउनु भयो । उहाले नगरको आर्थिक स्रोतका कारण सोचे भन्दा बढी बिकासका काम गर्न नसके पनि नगरवासीको हकहितमा नगरपालिका सधै प्रतिबद्ध रहने बताउनु भयो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेले जेष्ठनागरीक, गर्भवती तथा सुत्केरी महिलाहरु लाई टोल टोल र घरघरमै पुगेर सेवा प्रदान गर्ने सरकारको निती रहेकोले हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्र आवश्यक रहेको बताउनु भएको छ । उहाले नगरपालिकामा दुई वटा अस्पताल भए पनि सबैलाई समेटन नसक्ने हुदा गर्भवती , सुत्केरी , बालबालिका , जेष्ठ नागरीक परिवार नियोजन सेवा , खोप सेवा , लगायत बिभिन्न सेवाहरु आधारभुत सेवा स्वास्थ्य केन्द्रबाट सजिलै प्राप्त गर्न सकिने बताउनु भएको छ । उहाले स्वास्थ्य केन्द्रबाट अति आवश्यक आधारभुत स्वास्थ्य सेवाहरु छिटो र सजिलै प्राप्त गर्न सकिने हुदा अब अस्पतालमा गएर लाइनमा बस्नु नपर्ने बताउनु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ र १३ लगायत अन्य वडाका स्थानिय जनताहरुलाई समेत स्वास्थ्य क्षेत्रमा बिभिन्न किसिमका सेवाहरु प्रदान गर्ने उदेश्यका साथ संयुक्त रुपमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरेको बताउनु भएको छ । उहाले आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट बिभिन्न किसिमका सेवाहरु निशुल्क रुपमा लिन सकिने जानकारी दिदै यसलाई जेष्ठनागरीक मिलन केन्द्रको रुपमा बिकसित गर्दै लैजाने बताउनु भएको छ । उहाले केन्द्रबाट महिनाको एक पटक बिशेषज्ञ सेवा समेत प्रदान गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले नगरलाई स्वच्छ सफा राख्न प्रत्येक नागरीकको कत्र्तब्य भएकोले घरको फोहोर ब्यवस्थापन गर्न र घरपालुवा कुकुरलाई बाटोमा दिशापिसाब नगराउन आग्रह गर्नु भएको छ भने बाटोमा कुकुरलाई दिशापिसाब गराएको पाएमा कारवाही गर्ने चेतावनी समेत दिनु भएको छ ।


यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले नगरसंग वडा नम्बर २ मा पनि आधारभुत स्वास्थ्य केन्द्रको सुरुवात गर्न आग्रह गर्नु भएको छ । यस्तै गरी भैरहवा नमुना माध्यमिक.बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ताले सरकारले ९३ प्रकारका औषधी निशुल्क दिएको भने पनि जिल्ला अस्पतालहरुमा निशुल्क औषधी पाउन समस्या रहेको गुनासो गर्नु भएको छ । उहाले सरकारले निशुल्क भनेका औषधीहरु नगरले उपलब्ध गराउनु पर्ने आग्रह गर्नु भएको छ । यस्तै गरी उद्योग ब्यापार संगठन रुपन्देहीको अध्यक्ष दर्पण श्रेष्ठले सरकारी अस्पतालहरुलाई सुबिधा सम्पन्न बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले कुनै पनि बिरामी अस्पताल पुग्दा औषधी छैन , डाक्टर छैन , रातिको समयमा एक्सरे सेवा छैन भन्ने कुराहरु सुन्न नआओस भन्दै शान्ति सुरक्षाको ग्यारेन्टी गरिदिन आग्रह गर्नु भएको छ । उहाले राज्यले सेवा सुबिधा दिएमा उद्योगी ब्यवसायीहरु पनि आफनो दायित्व पुरा गर्ने बताउनु भएको छ । उहाले अहिले उद्योग ब्यवसायहरु घटदो क्रममा रहेकोले करको दायरा घटाई उद्योगी ब्यवसायीहरुको लागी सहज वातावरण सिर्जना गरिदिन समेत आग्रह गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सिद्धार्थनगरपालिकाले स्वास्थ्यलाई महत्वपुर्ण मानेर वडा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्दै आएको बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकामा रहेको सबैभन्दा पुरानो अस्पताल भिमअस्पतालको स्तरोउन्ती हुदै गएकोले यो भैरहवा बासीका लागी खुसीको बिषय भएको बताउनु भएको छ । उहाले भिम अस्पतालको बिकासमा नगरपालिकालाई पहल गर्न आग्रह गर्दै निजी क्षेत्रको तर्फबाट अस्पताललाई सधै सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।


कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष सोमबहादुर गुरुंगको स्वागत मन्तब्य रहेको कार्यक्र्रममा साहित्यकार तथा समाजसेवी बिजय गोबिन्द श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगको अध्यक्षता तथा नगरप्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको थियो । आधारभुत स्वास्थ्य सेवा केन्द्रको पहिलो दिन १ सय ५० जना भन्दा बढीले प्रेसर चेकजाच गराएका थिए । उदघाटन कार्यक्रममा वडा नम्बर ५ र १३ का वडा सदस्यहरु , सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोखरेल , वडा नम्बर ४ का वडाध्यक्ष भोला यादव, सिद्धार्थनगर नगरपालिकाका बरिष्ठ अधिकृत बिवेक खनाल, नगरको शिक्षा अधिकृत चेतनशील लम्साल, मारवाडी सेवा संघका अध्यक्ष श्रवण बेरिवाल, जनस्वास्थ्य निरीक्षक बिवेक चौधरी, वडा नम्बर ५ का वडा सदस्य किरण वर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-२८ , समय : ११:०६:४५ , १ वर्ष अगाडि