रुपन्देही खबर , २९८ पटक हेरिएको
भैरहवा, असोज ८
बेलहिया गाउँ समाज सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, रुपन्देहीको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा सुमित प्रधान विजयी हुनु भएको छ ।
१७३ मत प्राप्त गरी प्रधान अध्यक्षमा विजयी हुनु भएको हो । उहाका निकटतम प्रतिष्पर्धी अध्यक्षका अर्का उम्मेदवार नर्जुन गुरुङले १३६ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै उपाध्यक्षमा सुमन कुमार शर्मा १८३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपाध्यक्षका अर्का उम्मेदवार लक्ष्मण सुनारले ११६ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै सचिवमा १४८ मत प्राप्त गरी नरेश अधिकारी विजयी हुनु भएको छ भने सचिव पदका अर्का उम्मेदवार माधव शर्मा १ मतले पराजित हुनु भएको छ । शर्माले १४७ मत ल्याउनु भएको थियो ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको र अन्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन आयुक्त अर्जुन कुमार गिरीका अनुसार बेलहिया गाउँ समाजको कोषाध्यक्षमा राकेश गुरुङ, सह–सचिवमा भरत थापा, सदस्यहरुमा विक्रम गुरुङ, सन्तोष बराल, धर्मदत्त पौडेल र मनोज कुमार जैसवाल निर्विरोध निर्वाचित हुनु भएको हो । कुल ३७० मतदातामध्ये ३१४ जनाले आइतबार मतदान गरेको गिरीले जानकारी दिनु भएको छ । श्री बेलहिया माध्यमिक विद्यालयमा मतदान भएको थियो ।
बेलहिया गाउँ समाजको अध्यक्षमा विजयी प्रधान गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो। त्यस्तै समाजको अध्यक्षमा पराजित गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो ।
प्रकाशित मिति: २०२३-०९-२५ , समय : १३:२७:३३ , १ वर्ष अगाडि