रुपन्देही खबर , ४४२ पटक हेरिएको
भैरहवा , भदौ ३१
सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका पुर्व अध्यक्ष तथा सल्लाहकार स्वर्गीय ओमकार गौचनको शनिबार एक कार्यक्रमका बिच श्रद्धान्जली सभा गरीएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, भैरहवा मर्निङवाक ग्रुप, बैद्धिक सनातन धर्म सेवा समिति, लायन्स क्लब अफ सिद्धार्थनगर, जेसीआई सिद्धार्थ नेपाल, थकाली सेवा समाज, नेवा खल सिद्धार्थनगर, नेत्र ज्योति संघ भैरहवा, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, संस्कृत विद्याश्रम र सहिद स्मृति पुस्तकालयको संयुक्त आयोजनामा श्रद्धान्जली सभा गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले भैरहवाबासीले अमुल्य अभिभावक गुमाएको बताएका छन । उनीहरुले ओमकार गौचनले निस्वार्थ भावले समाजको सेवा गर्दै आउनु भएको अमुल्य रत्न रहेको उल्लेख गरेका छन । बिभिन्न सामाजिक क्षेत्रमा क्रियासिल रहनु भएको गौचन समाजका लागी निरन्तर सक्रिय भएर योगदान गर्दै आउनु भएको थियो । श्रद्धान्जली सभामा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौचनले उद्योगी व्यवसायी, भैरहवाबासी र समग्र मुलुकको हितका लागि निरन्तर आवाज उठाउदै आएको बताउनु भएको छ । उहाले “सकारात्मक सोंच, सधैं युवाजस्तो ऊर्जावान क्षमता, केही गरौं भन्ने हुटहुटी, आदर्श र प्रेरणाका स्रोत पूर्वअध्यक्ष गौचनलाई गुमाउँदा हामी दुखित छौं । हाम्रो मानसपटलमा सधैं रहिरहनु हुनेछ ।” भन्दै गौचनका सत्कर्मबाट भैरहवाबासीले धेरै कुराहरु सिक्न सक्ने बताउनु भएको छ । श्रेष्ठले उद्योगी व्यवसायीको हितलाई सर्वाेपरी ठानेर पूर्वअध्यक्ष स्वर्गीय गौचनले काम गरेको स्मरण समेत गर्नु भएको थियो ।
श्रद्धान्जली सभामा स्वर्गीय ओमकार गौचनको जिवनीको बारेमा भैरहवा मर्निङ वाक ग्रुपका संस्थापक अध्यक्ष बिजय गोबिन्द श्रेष्ठले जानकारी गराउदै गौचनको वि.सं. २००० साल वैशाख १७ गते मुस्ताङमा जन्म भए पनि गौचन भैरहवामा बि.स. २०१८ सालमा आउनु भएको बताउदै उहाले भैरहवामा व्यवसाय गर्नु मात्र नभइ समाजसेवामा समेत सक्रिय रहेको बताउनु भएको थियो । गौचन विभिन्न संघ–संस्थाको समेत नेतृत्व गर्नु मात्र नभइ समाजमा रहेका विकृति, विसंगति, ढिलासुस्तीबारे निरन्तर आवाज उठाउँदै आउनु भएको थियो ।
अरुलाई पीडा दिन नजानेको ओमकार गौचनको निधनले समाजलाई अपूरणीय क्षति भएको श्रेष्ठले बताउनु भएको छ । श्रद्धान्जली सभामा दिर्घ प्रसाद काफले , बैदिक सनातन धर्मसेवा समितीका पुर्व अध्यक्ष मिना श्रेष्ठ, साइकल सेवा सिटीका अध्यक्ष सुर्य सारु मगर, नेवा खल सिद्धार्थनगरका सचिव भाग्यवान श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा , संस्कृत बिद्याश्रमका सचिव कृष्ण प्रसाद भण्डारी , जेसिआइ सिद्धार्थ नेपालका पुर्व अध्यक्ष ओम श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगरका नवराज न्यौपाने, नेत्र ज्योती संघ भैरहवाका कार्यबाहक अध्यक्ष नारायण प्रसाद अग्रवाल, ब्रहमाकुमारी ईश्वरीय बिश्व बिद्यालयका शान्ति सुबेदी , बैदिक सनातन धर्म सेवा समितीका अध्यक्ष बिनिता श्रेष्ठ लगायतले बोल्दै गौचनले भैरहवाको विकासका लागि निरन्तर आवाज उठाउदै आउनु भएको र भैरहवाले एउटा असल अभिभावक गुमाएको बताएका थिए । भने सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । श्रद्धान्जली सभामा स्वर्गीय ओमकार गौचनको परिवारका सदस्यहरु धर्मपत्नी लिला गौचन, छोरा सुधिर गौचन, छोरीहरु सुमि गौचन, शुसि गौचन, सुजा गौचन , भैरहवा क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।
गत भदौ १७ गते समाजसेवी ओमकार गौचनको उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।
प्रकाशित मिति: २०२३-०९-१७ , समय : १२:२१:०२ , १ वर्ष अगाडि