सविता गुप्ता , ४५६ पटक हेरिएको
कपिलवस्तु, भदौ २१
कपिलवस्तु मायादेवी गाउँपालिका–२ अभिरावकीे ५५ वर्षिय शुभावती नेटुवा २ वर्ष देखि ‘फालिज’ अर्थात प्यारालाइसिस रोग बाट ग्रसित छिन् । दैनिक भिक्षा मागेर जीवन गुजारा गर्दै आएकी उनी एक्कासी बिरामी परेपछि उनलाई जिवन धान्न कठिन भयो । प्यारालाइसिस बाट थल परेपछि उनलाई औषधि उपचार गराउनको लागि समेत निकै कष्ट र झमेला व्यहोर्नु परिरहेको छ । सरकारले शुभावती जस्तै विपन्न तथा सिमान्तकृत समुदायको स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ तर, उनी भने यो सेवा बारे अनभिज्ञ छिन् । आफ्नो दयनिय अवस्थाबारे शुभावती भन्छिन्–‘हामी दैनिक भिक्षा मगेर खाने र जीविका चलाउने गर्छाै । एक दिन भिक्षा माग्न नजाने हो भने घरमा खाना पाक्दैन । त्यसमा पनि आफु यस्तो विरामी छु । हामी जस्ता गरिबलाई न त स्थानीय सरकारले हेर्छ, न त राज्यले नै । तपाई आफै सोच्नुहोस्–मेरो गुजरा कसरी चलेको होला ? उनले आफु जस्ताको स्वास्थ्यमा पहुँच पु¥याउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थाहै नभएको बताईन् ।
समुदायमा ‘मगन्ता’ जातिका रुपमा परिचित नेटुवा समुदाय स्वास्थ्यका दृष्टिले नीकै पछाडि परेकोे छ । उनिहरुको दैनिकी भिक्षा मागेर चल्ने भएकोले पहिलो प्राथमिकता खानाको जोहो गर्नु नै हो । खानाको जोहो पछि मात्रै स्वास्थ्य र अन्य आवश्यकता पुरा गर्ने भएकोले स्वास्थ्य प्रति उनीहरुको ध्यान जाँदैन । नेटुवाहरु भिक्षा माग्ने, सर्प समात्ने र नचाउने, माहुरीको मह निकाल्ने र बेच्ने लगायतका मुख्य काममा संलग्न छन् ।
मायादेवी गाउँपालिका–२ मनखोरीयाका नेतराम नेटुवा छाक टार्नकै लागि व्यस्त रहने भएकाले स्वास्थ्य सेवामा ध्यानै नदीएको बताउँछन् । स्वास्थ्य बीमा कार्यक्रमबारे जिज्ञाशा राख्दा नेटुवाले भने– पेटको आगो निभाउनै चिन्ता छ, कसरी स्वास्थ्य बारे सोच्नु ? पेशा अत्यन्तै जोखिममा रहेको बताउँदै नेटुवाले अगाडि थपे –‘समाजले पनि ‘तल्लो जात’ भनेर आफ्m्नो घरमा ज्याला मजदुरी गर्न बोलाउँदैनन् । आफ्नो नाममा जग्गा जमिन छैँन । अम्दानीको कुनै स्रोत छैन्, कसरी जीवन चलाउने ? । ’ नेटुवाहरुले परम्परागत पेशा पनि परिवर्तन गर्दै गइरहेका छन् । विबाह, पार्टी लगायतमा ब्रासबैण्ड बजाउने, हुण्डा अर्थात बटैया खेतीपाती गर्ने लगायतका काममा हात हाल्न थालेका छन् तर त्यो काम पनि केही समयको लागि मात्रै पाइन्छ । नेटुवा बस्तीमा स्वास्थ्य बीमाको कुरा लिएर अहिलेसम्म स्वास्थ्य बीमाकर्ता कोही पनि नआएको पनि उनले खुलासा गरे । स्वास्थ्य बीमाको बारेमा पहिलो पटक सुनेको समेत उनले जिकीर गरे ।‘स्वास्थ्य नै मानिसको धन हो थाहा छ तर, कसरी गुजारा गर्ने ? त्यो चिन्ता पहिले हुन्छ, अनि कसरी स्वास्थ्य बीमा गर्ने ? ’ उनले प्रश्नमाथि प्रश्न पनि गरिरहेका छन् । अन्य जाति तथा समुदाय सरह नेटुवा समुदायले राज्यले दिने सेवा सुविधा पनि नपाएको र राज्यको उपेक्षामा पनि परेको नेतरामले आरोप लगाए ।
मायादेवी गाउँपालिका–२, अभिरावका स्वास्थ्य बीमा सहजकर्ता अवधेश कुमार श्रीवास्तवले नेटुवा समुदायमा स्वास्थ्य बीमा गर्न जाँदा अनेकन प्रश्न र समस्या आएको स्वीकारे । स्वास्थ्य बीमा चाहिदैन, स्वास्थ्य बीमा गरे वापत उल्टै नगद रकम दिएपछि मात्रै स्वास्थ्य विमा गर्छौ भन्ने भनाई आएकोले विमा हुन नसकेको उनको दाबी छ । तर, मायादेवी गाउँपालिकाले खटाएको स्वास्थ्य विमा सहजकर्ताले अहिलेसम्म अभिराव स्वास्थ्य चौकीसँग समान्वय नगरेको स्वास्थ्य चौकीका प्रमुख जोगिन्द्र जायसवालले जानकारी दिए । जायसवालले नेटुवा समुदायको स्वास्थ्य बीमा गर्नको लागि आफनो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । स्वास्थ्य बीमा ऐन २०७४ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले ‘स्वास्थ्य बीमा नियमावली, २०७५’ जारी गरेको छ । नेपाल सरकारले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अतिअशक्त, अपाङ्गता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिभि र एचआइभी संक्रमित बिरामी भएका घर परिवार, लोपोन्मुख जातजातिहरु, महिला स्वयमंसेवीका लगायतलाई योगदान रकममा पुर्ण छुटको व्यवस्था गरिएको स्वास्थ्य बीमा कार्यक्रम नियमावली २०७५ मा उल्लेख गरेको छ । स्वास्थ्य बीमा सहजकर्ता श्रीवास्तवका अनुसार स्वास्थ बीमा कार्यक्रममा आवद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्दछ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । नेटुवा समुदायका जातिहरु गरिबीको रेखामुनी रहेका परिवार भित्रै पर्छन् । मायदेवी गाउँपालिका भित्र ८ वटा वडाहरु रहेका छन् । प्रत्येक वडामा स्वास्थ्य विमा दर्ता सहयोगी पालिकाबाट परिचालन गरिएका छन् । तर, नेटुवा समुदायको एउटा पनि स्वास्थ्य बीमा दर्ता हुन नसकेको कपिलवस्तु जिल्ला स्वास्थ्य बीमा वोर्ड कार्यालयको तथ्याङ्कबाट प्रष्ट देखिन्छ ।
कपिलवस्तु जिल्लाको स्वास्थ्य बीमा वोर्डमा नेटुवा समुदायको तथ्याङ्क
कपिलवस्तु जिल्लामा १० पालिका मध्ये महाराजगन्ंज नगरपालिका र शुद्धोधन गाउँपालिका भित्र रहेका नेटुवा सामुदायका ४४ जनाको स्वास्थ्य बीमा भएको तथ्यङ्कबाट देखिएको छ । जसमा महिला २४ र पुरुष २० जना रहेका छन् । महाराजगन्ज नगरपालिका भित्र महिला ३ पुरुष २ जना गरि जम्मा ५ रहेका छन् भने शुद्धोधन गाउँपालिका भित्र महिला २१ पुरुष १८ जना गरि जम्मा ३९ जना रहेका छन् । अन्य पालिका भित्र रहेका नेटुवा समुदायलाई स्वास्थ्य बीमा कार्यक्रमले छुन सकेको छैन् । जिल्ला भित्र रहेका अल्पसंख्यक समुदायसम्म अहिले पनि स्वास्थ्य बीमाकर्ताहरु नपुगेको कुरा तथ्यङ्कबाट प्रष्ट देख्न सकिन्छ ।
२०७२ सालमा कैलाली जिल्लाबाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रम लगभग ८ वर्ष पुरा भएको छ । कपिलवस्तुमा २०७५ साल वैशाख ५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम दर्ता सेवा शुरुवात भएको थियो भने विसं २०७५ भदौ १ गतेदेखि सेवा शुरु भएको थियो ।
जिल्लाभित्र कपिलवस्तु अस्पताल तौलिहवा, मायादेवी गाउँपालिका वडा नम्बर ५ को हरनामपुर पीएचसी अस्पताल, वाणगंगा नगरपालिकाको पिपरा अस्पताल, महाराजगंज नगरपालिकाको महाराजगन्ज पीएचसी र शिवराज नगरपालिका पीएचसी स्वास्थ्य विमा वापत औषधि उपचार गर्ने ठाउँ तोकिएको छ । नेपाल सरकारद्वारा तोकेको बीमा वापत औषधि उपचार सो ठाउँमा पाइनेछ । स्वास्थ्य विमाको वारेमा सेवाग्रहीलाई थाहा नहँुदा निजि अस्पताल र छिमेकी राष्ट्र भारतमा महँगो शुल्क तिरेर औषधि उपचार गराउँन बाध्य रहेका छन् ।
स्वास्थ्य बीमामा पाइने सुविधा
५ जना परिवारलाई बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । ५ जनाभन्दा बढी प्रति थप सदस्य वापत सुविधाको थैलीमा २ लाख बढ्दै जान्छ । परिवार संख्या अनुसार बढीमा २ लाखसम्मको स्वास्थ्य उपचार पाईन्छ । जेष्ठ नागरिकले वार्षिक १ लाखसम्मको उपचार सुविधा पाउँछन् । स्वास्थ्य विमामा सुविधा लिन हरेक वर्ष अनिवार्य रुपमा नविकरण गर्नुपर्नेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत विमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परि चोट पटक लागेमा, गर्भपतन गरेमा यो सेवा सुविधा पाउने छैन् । यस्ता उपचारलाई विमाले समेट्दैँन ।
स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका संयोजक तथा प्रमुख वशिष्ठ तिवारीले आमनागरिकको अप्रत्यासित आर्थिक जोखिम कम गर्ने एक मात्र बलियो र उपयुक्त माध्यम स्वास्थ्य बीमा रहेको बताए । स्वास्थ्य बीमामा सामान्यदेखि जटिलखालको रोगको उपचारको व्यवस्था रहेको छ । मुख्यतया स्वास्थ्य बीमामा ओपिडी (बहिरंग), अन्तरंग, आपतकालिन (इमरजेन्सी), शल्यक्रिया, ल्याब तथा फार्मेसी समेतको गुणस्तरीय सुबिधा रहेको छ । यसका साथसाथै स्वास्थ्य विमामा सुचिकृत भई धेरै प्रकारको एलोप्याथिक औषधि तथा २५ प्रकारको आयुर्वेदिक औषधि अश्वगंधा चूर्ण, विलवादी चूर्ण, चन्द्रनासी चूर्ण, काम दुधारस, महाशंख इत्यादि पाइन्छ । निदानात्मक परिक्षण अन्तर्गत १५२ प्रकारको परिक्षण गरिन्छ । त्यस्तै सरकारले तोकेको झण्डै एक हजार एक सय ३३ प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । प्रमुख तिवारी स्वास्थ्य बीमा कार्यक्रम प्रत्यक्ष मानव स्वास्थ्यसँग सरोकार राख्ने भएकाले स्थानीय तहले पनि आ–आफ्m्नो नीति तथा कार्यक्रममा समावेश गर्नु पर्नेमा जोड दिन्छन् ।
मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले पालिका भित्र बीमा सहजकर्ताहरु के कसरी कार्यहरु गरिरहेका छन् भन्ने बारे आफुलाई प्रष्ट थाहा नभएको बताए । यादवले बीमा सहजकर्तालाई बोलाएर नेटुवा समुदायको स्वास्थ्य बीमामा पहुँच बढाउन गर्न सकिने पहल बारे छलफल गरिने आश्वासन दिए । कपिलवस्तु अस्पातल तौलिहवाका मेडिकल सुपरिटेन्डन विपिन जायसवाल स्वास्थ्य बीमा बपत हुने औषाधी उपचारको छिटो र छरितो गर्न , गराउन सधै कटिबद्ध भएर अगडी बढेको बताउँछन्। स्थानीय तहले नेटुवा समुदायमा स्वास्थ्य बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरेर स्वास्थ्य बीमा गर्नेतर्फ अकर्षित गर्न सक्ने इन्सेक प्रतिनिधि एवं अधिकारकर्मी पार्वती अचार्यको भनाई छ । यस्तै मायादेवी गाउँपालिकाका प्रशासकीय अधिकृत परमेश्वर प्रसाद यादव नेटुवा समुदायको यकिन तथ्याङ्क संकलन गरेर निःशुल्क स्वास्थ्य विमा गर्न लगाउने बातावरण सिर्जना गरिने विश्वास दिलाए । मायादेवी गाउँपालिका पालिका अध्याक्ष वलीउद्दीन मुसलमानले स्वास्थ्य बीमा कार्यक्रमलाई राणनैतिक रुपमा बढाइने प्रतिबद्धात व्यक्त गरे
प्रकाशित मिति: २०२३-०९-०७ , समय : १२:३२:३३ , १ वर्ष अगाडि