जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल हरैया माविका बिद्यार्थीहरुलाई सम्मान

रुपन्देही खबर , २२७  पटक हेरिएको

कञ्चन, साउन २

एसईई परीक्षा २०८० मा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल कञ्चन गाउपालिकाको हरैया माध्यमिक बिद्यालयद्वारा बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। साधारण तर्फ ७६ जना र प्राविधिक तर्फ ४० जना गरी ११६ जना बिद्यार्थीहरुले सहभागिता जनाएको एस ई ई परीक्षा २०७९मा सो बिद्यालयमा समुन्द्र ढुङ्गानाले ३.९६ जिपिए प्राप्त गरी रुपन्देही जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको हो।
बधाई तथा सम्मान कार्यक्रममा बिद्यार्थीहरुलाई बधाई दिदै कञ्चन गाउपालिकाका अध्यक्ष नवारज ढकालले बिद्यालयको शैक्षिक गुणस्तरमा कसैले पनि कन्जुसाई गर्न नहुने उल्लेख गर्नु भयो। बिद्यालयको शैक्षिक स्तरमा उत्कृष्टता प्राप्त गर्न कुनै एक शिक्षक वा कुनै एक बिद्यार्थी तथा अभिभावकको एकल प्रयासले सम्भव नहुने उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले कञ्चनमा छिटै नै बहु प्राविधिक शिक्षालय संचालन गर्न आवश्यक प्रकृया अगाडी बढाइएको बताउनु भयो।

कञ्चन गाउपालिकाका प्रवक्ता तथा सामाजिक बिकास संयोजक चित्र तुलाचनले कञ्चन गाउपालिकाको हरेक बिद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरुलाई बिषयगत तालिम र बिद्यालयहरुमा पढ्दै कमाउदै कार्यक्रमलाई बिस्तार गरिने बताउनु भयो। पढेर केही काम छैन भन्नेहरुका लागि बिद्यालयमा सञ्चालन गरिने पढ्दै कमाउदै कार्यक्रमबाट शैक्षिक र आर्थिक दुबै क्षेत्रमा अव्वलता देखाएर समाजमा नयाँ सन्देश प्रबाह गर्न सकिने प्रवक्ता तुलाचनले बताउनु भयो।

बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले पछिल्लो समयमा हरैया माध्यमिक बिद्यालयले शैक्षिक रुपमा अव्वलता कायम गर्दै आएको र आगामी शैेक्षिक सत्रहरुमा यस अव्वलतालाई कायम राख्ने समेत प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो। अंग्रेजी र नेपाली माध्यममा कक्षा १ देखि १२ कक्षासम्म पढाई हुने भएपनि बिधार्थी, अभिभावक र सरोकारवालाहरुबाट एकले अर्कालाई सञ्चार गर्ने बानी नबसेका कारण अझै अभिभावकहरुमा अंग्रेजी माध्यममा समेत पढाइ हुने कुरा ओझेलमा परिरहेको प्रधानाध्यापक शर्माले बताउनु भयो। कञ्चन ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले बिद्यालयको अक्षयकोषका लागि १ लाख १ हजार १ सय ११ रुपैया नगद सहयोग गर्दै बिद्यालयको शैक्षिक, भौतिक तथा अन्य प्राविधिक सहयोगका लागि गाउपालिका सदैव सकारात्मक हुदै आएको बताउनु भयो।

कक्षा ९ देखि कक्षा १२ सम्म कम्प्युटर तर्फको प्राविधिक शिक्षा पढाइ हुने सो बिद्यालयले एस ई ई परीक्षामा ३ दशमलव ६ देखि ३ दशमलव ९६ जिपिए ए प्लस सहित उत्तिर्ण हुने ११ जना बिद्यार्थीहरुलाई जनही ५ हजार रुपैया र ३ दशमलव २ देखि माथी ३ दशमलव ६ जिपिए ए ग्रेड सहित उत्तिर्ण हुने २० जना बिद्यार्थीहरुलाई ३ हजार रुपैया सहित सम्मान पत्रले सम्मान गरिएको थियो। २०६४ को एस एल सी परीक्षामा समेत बिशिष्ट श्रेणी सहित सामुदायिक बिद्यालयहरुमा रुपन्देहीमा उत्कृष्टता हासिल गर्दै आएको यस हरैया माध्यमिक बिद्यालयले शैक्षिक सत्र २०७४ देखि कम्प्युटर तर्फको प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ। १ हजार ६ सय बिद्यार्थी संख्या रहेको सो बिद्यालयमा कक्षा ९ देखि १२ कक्षा सम्म कम्प्युटर तर्फको प्राविधिक र कक्षा ११ र १२ मा शिक्षा संकाय र ब्यबस्थापन तर्फको साधारण शिक्षा पढाई हुदै आएको छ।
कार्यक्रममा वडा नंम्बर ३ का वडा अध्यक्ष टीकाराम सापकोटा,पुर्व जनप्रतिनीधि तथा हरैया माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका भुतपुर्व अध्यक्ष भरतमणी सापकोटा, पुर्व बिद्यार्थी राम बहादुर थापा, पुष्पराज शर्मा, बिद्यालयबाट उत्कृष्ट जिपिए ल्याई उत्तिर्ण हुने समुन्द्र ढकाल लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता तथा शिक्षक कलाधर ढकालको संचालनमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्यले स्वागत गर्नु भएको थियो। कार्यक्रममा संघिय सरकारद्वारा प्राप्त भएको कक्षा १ देखि ८ कक्षा सम्मका सम्पुर्ण छात्राहरु ९१८६ जना र दलित छात्रहरु ९४८ जनालाई जनही ४०० रुपैयाको दरले ९३ हजार ६ सय रुपैया र कञ्चन गाउपालिकाबाट प्राप्त भएको गरिब तथा जेहेन्दार बिधार्थीहरुका लागि छात्रबृत्ति जनही ४०० रुपैयाका दरले ८५ जनालाई ३४ हजार रुपैया छात्रबृत्ति समेत वितरण गरिएको थियो।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : २३:४८:२३ , १ वर्ष अगाडि