रुपन्देही खबर , ३७३ पटक हेरिएको
भैरहवा, असार २०
स्थानीय उत्पादनलाई प्रोत्साहन गरि पर्यटन क्षेत्रको विकासका लागी पर्यटकहरुको बसाई लम्ब्याउने योजना बनाइ काम गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले पर्यटकको बसाई लम्ब्याउन नसक्दा अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास हुन नसकेको गुनासो गरेका छ्न ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले मंगलबार भैरहवामा आयोजना गरेको पर्यटनको प्रवर्द्धनमा सिद्धार्थनगरको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले भैरहवामा सुविधा सम्पन्न होटल हुँदा पनि पर्यटकको बसाई लम्ब्याउन नसकेको बताएका हुन । उनीहरुले पर्यटकलाई भुलाउने वातावरण बनाउन सके मात्र बसाई लम्ब्याउन सकिने भएकाले सोहीअनुसार योजना बनाउनुपर्नेमा जोड दिएका छ्न।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले आर्थिक चलायमानका लागि आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताउनु भएको छ । उहाले कम्तीमा दुई दिन सम्म पर्यटकलाई भैरहवामा बसाल्न सकेमा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाले भैरहवामा भएका मठमन्दिरको संरक्षण गर्न आवश्यक रहेको जोड दिदै भैरहवालाई पर्यटकिय क्षेत्रमा बिकास गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले नगरपालिकामा उद्घाटन भइसकेको कतिपय संरचना सञ्चालनमा आउन नसकेको भन्दै यथाशिघ्र सञ्चालनमा ल्याउने बताउनु भएको छ ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउनुपर्ने माग गर्नु भएको छ । उहाले तेस्रो मुलुकको भन्दा भारतीय पर्यटकले धेरै खर्च गर्ने भएकाले सोचमा परिवर्तन ल्याउनुपर्ने आवश्यक रहेकोमा जोड दिदै ‘पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा जोड दिनुपर्ने बताउनु भयो ।
यस्तै गरि चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन व्यवसायलाई स्थापित गर्नुपर्ने बताउनु भएको छ । उहाले पर्यटन क्षेत्रको विकासमा सिद्धार्थनगर नगरपालिकाको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । उहाले निजी क्षेत्र र नगरपालिका हातेमालो गर्दै अघि बढ्नुपर्ने र पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले भैरहवामा रात्रीकालीन बजार सञ्चालनका लागि नगरपालिकाले पहलकदमी लिन आवश्यक रहेको बताउनु भएको छ । अध्यक्ष ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि निरन्तर आवाज उठाउदै आएको बताउनु भयो ।
यस्तै गरि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले पर्यटनको प्रवर्द्धन आवश्यक रहेको बताउनु भएको छ । उहाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सिद्धार्थनगर नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाले आर्थिक मन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएकोले व्यवसायीका समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा सदस्य किरन देवी सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनरुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासे, साहित्यकार विजय गोविन्द श्रेष्ठ, सिद्धार्थ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा सिद्धार्थनगर वडा नं. ५, १२, १३ का अध्यक्ष गोविन्द प्रसाद बस्याल, भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता,सिद्धार्थनगर नगरपालिका शिक्षा समिति सदस्य सलुजा रामदाम,भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचन,समाजसेवी नारायण प्रसाद अग्रवाल,व्यवसायी हरिश सेठिया,वडा नम्बर १३ की वडा सदस्य सीता बुढाप्रिती, निलु श्रीस मगर लगायतले रात्रीकालीन बजारलाई जोड दिनुपर्ने बताउदै स्थानीय उत्पादन विक्रीवितरणका लागि पसल सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रम सिनपा वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिनपाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडयालको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । भने कार्यक्रम संचालन वडा नम्बर ५ की वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०७-०५ , समय : १३:३३:४५ , १ वर्ष अगाडि