राष्ट्रसङ्घको शान्ति कार्य हेर्ने उपमहासचिव जिन पियरे आज नेपाल आउँदै

रुपन्देही खबर , ३६०  पटक हेरिएको

काठमाडौं, असार १२

संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । नेपाल भ्रमणका क्रममा उहाले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुनेछ । उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।

नेपाल बसाइँका क्रममा उहा संयुक्त राष्ट्रसङ्घ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । साथै, उहाँले पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ । शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा रहिआएको छ । संयुक्त राष्ट्रसङ्घबाट माग भइआएको खण्डमा नेपालले १० हजार सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ

प्रकाशित मिति: २०२३-०६-२७ , समय : ०८:५५:१९ , १ वर्ष अगाडि