नेपाल र युएई सरकारबीच श्रम सम्झौता नवीकरण

rupandehi khabar , २३६  पटक हेरिएको

काठमाडौं, जेठ ३१

नेपाल सरकार र संयुक्त अरब इमिरेट्स युएई सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । आज नेपाल र युएई सरकारबीच सन २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको बैठकमा युएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्नु भएको थियो ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली श्रमिकलाई युएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्था र जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरणका विषयमा प्रस्ताव राखिएको थियो ।

नेपालका तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गरेका मन्त्रालयका सहसचिव राजिव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकनका साथै नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानूनको जानकारी दिनु भएको थियो । उहाले नेपाली श्रमिकको विवरण तथा अलेखबद्धरूपमा युएईमा रहेका नेपाली श्रमिकलाई आममाफीसहित नेपाल फिर्तामा सहजीकरणका विषयमाथि छलफलको प्रस्ताव राख्नु भएको थियो ।
नेपाली श्रमिकको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रियाजस्ता विषयमाथि छलफल भएको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिनु भएको छ ।

बैठकमा युएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अब्दुल्ला अलनुइमीले नेपाल सरकारका तर्फबाट राखिएका प्रस्ताव सम्बोधन गर्न युएईको श्रम बजारको अवस्था चित्रण गर्दै आफ्नो कार्यदल र मानव संसाधन र प्रवासी मन्त्रालय सकारात्मक रहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०६-१४ , समय : २१:१५:१४ , १ वर्ष अगाडि