rupandehi khabar , २६८ पटक हेरिएको
भैरहवा, जेठ २४
केहिदिन देखि निरन्तर रुपमा गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई बिद्यालय जान आउन तथा पटन पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिनु भएको छ ।
पालिका अन्र्तगतको शिक्षा समितीको मंगलबार बसेको बैठकले आज बुधबार देखि आगामी असार ६ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिनुभयो । ‘गर्मी बढेपछि विद्यार्थीहरुलाई विद्यालयसम्म जान आउन तथा पठनपाठनमा समस्या आएको र जिल्ला विपद व्यवस्थापन समितिले पनि अत्याधिक गर्मी बढेका कारण बिद्यार्थीहरुमा समस्या परेको भन्ने पत्र पठाएकोले बिद्यालयमा १४ दिनसम्म बिदा दिने निर्णय गरेको सियारी गाउँपालिका अध्यक्ष एवंं शिक्षा समितीका संयोजक थानेश्वर घिमिरेले बताउनु भयो ।
पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रुपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउसोको समयमा घाममा हिडडुल गर्न नदिन आग्रह गरेको छ । यस्तै पूर्व निर्धारित परिक्षालाई साउन १९ गते भित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गर्दै अहिलेलाई १४ दिनका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनु भएको छ । रुपन्देहीमा केहि दिन देखि निरन्तर रुपमा ३८ देखि ४२ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । गर्मीका कारण बिद्यार्थीहरु बिरामी भएर अस्पताल भर्ना हुने गरेका छन ।
प्रकाशित मिति: २०२३-०६-०७ , समय : ०९:१३:४५ , १ वर्ष अगाडि