मदिना मस्जिद परिषद बुटवल द्वारा हजयात्रीहरुलाई सम्मान तथा बिदाई

हलिम खाँन , १०५०  पटक हेरिएको

बुटवल, जेठ १५

रुपन्देहीको बुटवल बाट हजका लागि जान लागेला १८ जना हजयात्रीलाई मदिना मदरसा मस्जिद प्रबन्ध परिषदले सम्मान तथा बिदाई गरेको छ । १८ जना हज यात्रीहरुलाई मस्जिद समितीका अध्यक्ष हाजी सकुर मियाले टोपी, दोसल्ला र हज मार्गदर्शन किताबका साथ शुभकामना दिदै बिदाई गरेका हुन् ।

साउदी अरबको मक्का मदिनामा हजका लागि रुपन्देही बाट यसवर्ष महिला पुरुष गरि १०७ जनाले फारम भरेका थिए भने बुटवल बाट १८ जना जाँदै छन । मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्नु पर्छ ।

हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए ।

उक्त कार्यक्रम मस्जिदका मौलानाले कुरानको तिलावत गरि सुरु गरिएको थियो । समितिका अध्यक्ष हाजी सकुर मिया , प्रमुख अतिथि मस्जिद व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष हाजी जलाल मिया , स्वागत मन्तव्य समितीका बरिस्ठ उपाध्यक्ष हाजि मनिउल्ला मियाँ र संचालन सचिव सबर मियाले गरेका थिए ।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : १९:५२:४६ , १ वर्ष अगाडि