जिल्ला प्रशासन कार्यालय महोत्तरीमा रा.बा.बैंकको काउण्टर विस्तार

रञ्जन भण्डारी , ३७१  पटक हेरिएको

महोत्तरी, जेष्ठ ४

राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाले आफ्नो काउण्टर विस्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आउने सेवाग्राहीलाई मध्यनजर गर्दै बैंकले आफ्नो काउण्टर विस्तार गरेको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बुधवार रिवन काट्दै काउण्टरको उदघाटन गरेका हुन । काउण्टर उदघाटन गर्दै उनले भने,‘जिल्ला प्रसासन कार्यालय महोत्तरीमा राहदानी र विभिन्न मुद्दामा सरकारी दस्तुर तिर्न पहिले बैंकसम्म पुग्नु पर्ने बाध्यता हटेको छ । बैंकमै रकम बुझाउन जानु पर्दा समय खेर जाने र तत्कालै सेवाग्राहीले पाउनु पर्ने सेवामा विलम्ब हुने भएकोले काउण्टरको विस्तारले सेवाग्राहीको मेहनत र श्रम दुवै बच्ने छ ।’ उनले थपे,‘राजश्व बुझाउनुका साथै विभिन्न क्षतिपुर्तिका रकमको लागि पिडितलाई बैंकमा खाता खोल्ने र रकम हस्तान्तर गर्ने कार्यको लागि समेत बैंकले सेवा प्रवाह गर्ने छ ।’

यता जलेश्वर स्थित रा.बा.बैंकका प्रबन्धक मन्सुर राईनले बैंकले विभिन्न सेवा प्रदान गर्ने भएकोमा एउटा काउण्टरबाट सक्दो सेवा प्रवाह गर्ने प्रयास गरिने बताए । उनले आवश्यक्ता र जनशक्तिको उपलब्धता अनुसार सेवा विस्तार हुन सक्ने बताए । काउण्टर उदघाटन कार्यक्रममा महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,रा.बा. बैंकका कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : ११:४७:०६ , २ वर्ष अगाडि